Thu. Apr 18th, 2024

करिब दुई अर्ब रुपियाँ लगानीमा फेवाताल-सराङकोट केबलकार निर्माण सम्पन्न

काठमाडौं, २०७८ असार १२ गते शनिबार । पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप, हरियाली वनजङ्गल र माछापुच्छ्रे हिमालको सुन्दरता एकैपटक आनन्द लिन सकिनेछ ।

कोरना सङ्क्रमणको हालको अवस्थामा सुधार भएपछि केबलकार परीक्षण गरिने अन्नपूर्ण केबलकारका सञ्चालकमध्येका एक तीर्थराज त्रिपाठीले बताउनुभयो । गत वर्ष नै निर्माण सम्पन्न गर्ने तयारीमा रहेको केबलकार कोरोना भाइरस सङ्क्रमणका कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको उहाँको भनाइ छ ।

त्रिपाठीका अनुसार केबलकारका लागि हाल १८ वटा गुन्डला (डिब्बा) रहेका छन् भने थप गरेर ३६ वटासम्म पु¥याउन सकिने कम्पनीले जनाएको छ । हाल जडान गरिएका १७ वटा डिब्बा यात्रुका लागि र एउटा डिब्बा सामान बोक्नका लागि प्रयोग हुनेछ ।

प्रत्येक डिब्बामा एक पटकमा आठ जनासम्मले यात्रा गर्न सक्छन् । फेवाताल किनार सेतीबगरदेखि सराङकोटाको डाँडासम्म करिब आठ मिनेटमै पुग्न सकिनेछ । एक घण्टामा एक हजार पाँच सय जनाले आउजाउ गर्न सक्नेछन् । केही दिनअघि केबलकारको लठ्ठा दुई मिनेट चलाएर परीक्षण गरिसकेको त्रिपाठीले बताउनुभयो ।

करिब ७५ रोपनी क्षेत्रफल ओगटेको परियोजनाको तल्लो तथा माथिल्लो स्टेसन कङ्क्रिट संरचनामा निर्माण भएको छ भने दुवै स्टेसन भवनमा रेस्टुरेन्ट, पार्किङ, गार्डेन, टिकट काउन्टर, शौचालयलगायतका भौतिक संरचना समेत निर्माण भइसकेका छन् ।

परियोजना करिब डेढ वर्षमा निर्माण कार्य सक्ने लक्ष्य राखेको भए पनि सम्पन्न हुन भने चार वर्षभन्दा बढी समय लागेको हो । केबलकारको स्टेसन भवनको संरचना बनावटमा परिवर्तन हुनु, जग्गा विवाद, कहिले प्राविधिक दक्ष कर्मचारी र कहिले बोल्ट हराउनेलगायतका समस्याले गर्दा निर्माण कार्य ढिलाइ भएको त्रिपाठीले स्पष्ट पार्नुभयो ।

तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्दा परियोजनाको लागत दोब्बर बढेको छ । सुरुमा अनुमानित लागत करिब ९० करोड रुपियाँ भनिए पनि परियोजना सम्पन्न हुँदा करिब दुई अर्ब रुपियाँभन्दा बढी खर्च भइसकेको निर्देशक त्रिपाठीले बताउनुभयो ।

परियोजनामा युवा व्यवसायी कालु गुरुङसहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, जापानी नागरिक स्वर्गीय टाकासी मियाहारा (सोगो काईआयु क.लि.) को १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको कम्पनीले जनाएको छ । परियोजनामा राष्ट्रिय वाणिज्य बैङ्क, सनराइज बैङ्क, नेपाल बङ्गलादेश बैङ्कको सहयोग रहेको कम्पनीका अध्यक्ष कालु गुरुङ बताउनुहुन्छ ।

केबलकारको निर्माण चितवन कोई समूहले गरेको हो । हाल नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरि केबलकार जस्तै भए पनि यो केबलकारमा नयाँ प्रविधि प्रयोग भएको अध्यक्ष गुरुङको भनाइ छ । गोरखापत्र अनलाईन

Facebook Comments