Sat. May 18th, 2024

शर्तसहित आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन हुने

काठमाडौं, २०७८ असार ८ गते मंगलबार । सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड-१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति पर्यटन मन्त्रालयले तय गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

अन्तरराष्ट्रियतर्फ पनि नियमित हवाई उडान सङख्या थप गर्ने निर्णय भएको छ । काठमाडौं-दोहा गन्तव्यमा दुबै मुलुकका समान दुई वायुसेवा कम्पनीले सातामा चार उडान गर्नेछन । काठमाडौं-स्तानबुलमा साताको दुई, काठमाडौं-दुबईमा सातामा चार उडान हुने जनाइएको छ ।

काठमाडौं-दमाम गन्तव्यमा दुई, काठमाडौं-कुवेतमा साताको दुई , काठमाडौं-मस्कटमा साताको एक र मलेसियामा साताको चार उडान सञ्चालन गरिनेछ । त्यस्तै दक्षिण कोरिया र जापानमा समान एक उडान तथा काठमाडौं-छेन्दु र ग्वाङजाओ गन्तव्यमा साताको समान एक-एक उडान सञ्चालन हुनेछ । गोरखापत्र अनलाईन

Facebook Comments