Tue. May 21st, 2024

विदेशी पत्रकार भन्छन्-चीनको सिन्च्याङमा पूर्ण धार्मिक स्वतन्त्रता

२०७८ असार ६ गते आईतबार ।

-चेतनाथ आचार्य, उरुमुछी, चीन चाइना मिडिया ग्रुप सीएमजीको एसिया अफ्रिका विभागका विभिन्न दस विदेशी पत्रकारहरुले सिन्च्याङ स्वायत्त प्रदेशको अवलोकन भ्रमण सुरु गरेका छन् । सीएमजीको नेपाली सेवा, तामिल, वंगाली, उर्दू, थाइ, हौसा, स्वाहिली, पास्तो, पर्सियन र जापानी भाषाका विदेशी पत्रकारसँगै एक दर्जन चिनियाँ पत्रकार सहभागी भ्रमणले शनिबारदेखि सिन्च्याङको उरुमुछीबाट भ्रमण सुरु गरेको हो ।

चीनको उत्तर पश्चिममा पर्ने सिन्च्याङ स्वायत्त प्रदेशमा बसोबास गर्ने बहुसङ्ख्यक नागरिकले इस्लाम धर्म मान्छन् । यस प्रान्तमा युगुर, कजाख, ह्वी, किर्गिज, ताजिक, उज्बेक, तातार, डोङ स्वाङ, सालार र बाओन लगायत १० जातिले इस्लामधर्ममा विश्वास गर्दछन् ।

पहिलो दिनको भ्रमणमा पत्रकारहरुले उरुमुछीमा रहेको इस्लामिक धर्मशास्त्र अध्ययन संस्था (धार्मिक कलेज) को अवलोकन गरेका छन् । उक्त धार्मिक शैक्षिक संस्था भित्र प्रार्थनाका लागि मस्जिद पनि बनाइएको छ। उक्त मस्जिदमा अपरान्ह साढे चार बजे हुने प्रार्थनासभाको प्रत्यक्ष अवलोकनपछि पत्रकारहरुले सिन्च्याङ प्रान्तमा कायम रहेको धार्मिक स्वतन्त्रता तथा मुस्लिम धर्मका अधिकार संरक्षणमा भएका कार्यका बारेमा सिन्च्याङ इस्लाम धर्म संघका उप-निर्देशक एवं सिन्च्याङ इस्लामिक धर्मशास्त्र विद्यालयका उपनिर्देशक मुक्तरम शरिफसँग अन्तर्वार्ता लिएका थिए । शरिफले पत्रकारहरुलाई जवाफ दिँदै उक्त शैक्षिक संस्थाको छात्रावास लगायतका क्षेत्रको अवलोकन गराउनुभयो ।

अमेरिका लगायतका पश्चिमा मुलुकले चीनको सिन्च्याङमा धार्मिक स्वतन्त्रता र संरक्षण छैन भन्ने आरोप लगाइरहेको बेला उरुमुछीको यस इस्लामिक शैक्षिक संस्थाको अवलोकन भ्रमण र कुराकानीबाट पश्चिमा आरोप बकबास मात्र रहेको पाकिस्तानका पत्रकार शाकिर उल्लाहले बताउनुभयो । पाकिस्तानमै जस्तो इस्लाम धर्म अध्ययन अध्यापन हुने गरेको आफूले पाएको र मस्जिदमा प्रार्थना विधि पनि उस्तै रहेको उहाँको कथन छ ।

शैक्षिक संस्थाको क्षेत्रभित्र स्थापित उक्त मस्जिदभित्र प्रार्थना गर्दा जुत्ता बाहिर खोलेर जानुपर्छ। गलैँचा विछ्याइएको मस्जिद अत्यन्त सफा र स्वच्छ भएकाले जुत्ता लगाएर पवित्र धार्मिक क्षेत्रमा जान पाइन्न । गैर मुसलमानहरुले भने जुत्ता नखोलिकन जान सक्छन् तर बाहिरपट्टि जुत्तालाई प्लास्टिकसिल गर्नुपर्दछ। यसका लागि ढोकामा स्वचालित मिसिनहरु राखिएको छ जसले जुत्तामा प्लास्टिक मोरेर तातो हावाले प्लास्टिकलाई जुत्ता वरिपरी टाँस्ने गर्दछ। मस्जिदको भ्रमणपछि प्लास्टिकलाई जुत्ताबाट निकालेर डसबिनमा राख्ने कामले धार्मिक क्षेत्रको पवित्र भावना र स्वच्छतालाई कायम राखेको छ । भ्रमण टोलीमा सहभागी बंगलादेश, पाकिस्तान, अफगानिस्तानका पत्रकारले पनि मस्जिदभित्र प्रार्थना गरेका थिए ।

सिन्च्याङ इस्लामिक संघले चिनियाँ, युगुर, कजाग आदि चार भाषामा “कुरान” शास्त्र, हदीस वा उपदेश लगायत धर्मग्रन्थको अनुवाद र प्रकाशन गरेको छ । धार्मिक नियम, कुरानको व्याख्या आदि विषय समेटिएका ती ग्रन्थसँगै अन्य संस्कृति र इतिहासका विषय पनि पठनपाठन गराइन्छ ।

हाल सिन्च्याङमा दसवटा इस्लामिक कलेज (धार्मिक विद्यालय) हरु छन्। यी संस्थाहरुले उरुमुछीमा इमाम (धार्मिक गुरु) उत्पादन गर्ने काम गर्दै आएको छ। सिन्च्याङ इस्लाम धर्मका उपप्रमुख मुक्तरम शरिफले जानकारी दिनु भएअनुसार उक्त मस्जिद सिन्च्याङ प्रान्तमा इस्लाम धर्म अध्ययनका लागि सिन्च्याङमा स्थापित एक मात्र धार्मिक कलेज हो । कलेजमा एक हजार एक सयजना विद्यार्थी अध्ययनरत छन् । सिन्च्याङभरि यस संस्थाका ८ वटा शाखा छन् र ती शाखामा एक हजार  नौ सय विद्यार्थी इस्लाम धर्मको अध्ययन गर्दछन् ।

इस्लाम धर्म अध्ययन गर्ने विद्यार्थीलाई निशुल्क छात्राबासको सुविधासहित मासिक छात्रवृत्ति पनि उपलब्ध गराइने कुरा शरिफले बताउनुभयो । सामान्यतः १८ वर्षको उमेरदेखि २५ वर्षको उमेर समूहका पुरुष विद्यार्थीहरु मात्र अध्ययन गर्ने उक्त धार्मिक शैक्षिक संस्थामा तीन वर्षदेख सात वर्षसम्म अध्यापन हुने गरेको छ । अध्ययनमा उत्कृष्ट विद्यार्थीले वार्षिक रुपमा एकमुष्ट नगद पुरस्कार पनि प्राप्त गर्दछन् ।

सन् १९८७ मा स्थापित उक्त सिन्च्याङ इस्लामिक कलेजको भवन निर्माण क्षेत्र दस हजार वर्गमिटरभन्दा कम थियो । हाल सो भवनको क्षेत्रफल वृद्धि भएर ५० हजार वर्गमिटरभन्दा बढी पुगेको छ । सुरुमा १५० जना मात्र विद्यार्थी रहेका हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यहाँ तीन धर्मशास्त्र, कानुन र नियमहरू र संस्कृति र इतिहास जस्ता विषयहरुको पठनपाठन हुने गरेको छ । चिनियाँ भाषा र उइगुर भाषा बाहेक अरबिक र उर्दू भाषामा पनि कुरानशास्त्रको अध्ययन गराइन्छ । अध्यापकहरु पहिले मध्यपश्चिमका विभिन्न देशमा अध्ययन गरेर फर्किएका व्यक्ति हुन् ।

Facebook Comments