Sat. May 18th, 2024

दया फाउण्डेशनद्वारा छत्रपाटी नि:शुल्क चिकित्सालयलाई अक्सिजन प्लान्ट स्थापनाको लागि रु. २० लाख सहयोग

काठमाडौं, २०७८ असार ६ गते आईतबार । काठमाडौं क्षेत्रपाटीस्थित छत्रपाटी नि:शुल्क चिकित्सालय तथा कोरोना अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाको लागि दया फाउण्डेसनले रु.२० लाख सहयोग गरेको छ ।

छत्रपाटी नि:शुल्क चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठका अनुसार सो रकम फाउण्डेसनका अध्यक्ष राजेश प्रधानले हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण समारोहमा अध्यक्ष प्रधानले सो अस्पताललाई अन्य सहयोगको आवश्यकता परे सो पनि सहयोग गर्न तयार रहेको बताउनु भएको छ । कोरोनाका विरामीहरुको उपचारका लागि यस अघि पनि दया फाउण्डेसनले रु.६ लाख छत्रपाटी नि:शुल्क चिकित्सालयलाई प्रदान गरिसकेको छ ।

यस अघि पनि दया फाउण्डेसनले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ । यस संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेण्टरमा हालसम्म ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।

संस्थाले सहयोग गरेको अस्पतालहरु विशेषत निम्न आय वर्ग भएकाहरुको उपचारका लागी लक्षित भएको हुँदा यस सहयोगले विपन्न वर्गको कोभिड-१९ को उपचारमा टेवा पुर्याउने कुरा दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले बताउनु भयो । साथै निजी क्षेत्र पनि यस विषम परिस्थितिमा अगाडि आई समाज सेवामा अग्रसर हुनुपर्ने उहाँको भनाइ छ ।

उक्त संस्थाबाट कोभिड सम्बन्धी कार्यक्रमहरुको समन्वय तथा संयोजन गर्दै आउनु भएका संस्थाका पूर्वअध्यक्ष किपा माथेमाका अनुसार फाउण्डेशनले विविध स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने मात्र नभई संक्रमितको उपचारमा संलग्न रहँदै आएका जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिम आयोजना गरिएको छ ।

कोरोना महामारीको पहिलो लहरमा उल्लेख्य स्वास्थ्य सेवा उपलब्ध गराए बापत टेकु अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको कोभिड नर्सिङ्ग युनिटलाई दया फाउण्डेशनले ‘एक्सिलेन्स अवार्ड’बाट सम्मानित गरिसकेको छ 

दया फाउण्डेसन

एउटा सुन्दर समुदाय निर्माण गर्ने उद्देश्यबाट प्रेरित ससाना प्रयासहरुबाट दया फाउण्डेसनको स्थापना भएको हो । यस फाउण्डेसनका प्रेरणाका श्रोत दयाराम भक्त माथेमा हुनुहुन्छ । संस्थापक माथेमा कै प्रेरणा र पहलमा दया फाउण्डेसन शैक्षिक, साँस्कृतिक तथा स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग र विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । दया फाउण्डेसन यस क्षेत्रमा पहिले काम गरेर विविध अनुभव हासिल गरिसकेका विभिन्न संस्था तथा व्यक्तिहरुसँग मिलेर सामाजिक सेवामा समर्पित रहेको छ ।

फाउण्डेसनका संस्थापक दयाराम भक्त माथेमाले जीवनका ५० वर्ष भन्दा धेरै समय देश र सार्वजनिक सेवामा समर्पित गर्नुुभयो । उहाँको जन्म सन् १९२७ जनवरी २५ मा भएको थियो । दशकौंसम्म नेपाली समाजलाई सेवा गर्नुभएका माथेमाको सन् २००८ मा निधन भए पनि दया फाउण्डेसनको रुपमा उहाँको दृष्टि र सपना हालसम्म पनि जीवितै रहेको छ ।

दया फाउण्डेशन समाजसेवी दयाराम भक्त माथेमाको स्मृतिमा वहाँको परिवारद्वारा पारिवारिक ट्रस्टको रुपमा समाजसेवाका लागि सन् २००९ मा स्थापित संस्था हो ।

Facebook Comments