Fri. Apr 26th, 2024

चीनमा फेला परेको जीवावशेष ‘चारवटा हात्तीजत्रो ठूलो र जिराफभन्दा अग्लो गैँडाको’

काठमाडौं, २०७८ असार ४ गते शुक्रबार । पश्चिमोत्तर चीनमा फेला परेको एउटा भीमकाय जीवका अवशेषहरू प्राचीन कालमा विचरण गर्ने एउटा छुट्टै प्रजातिको गैँडाका भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

‘प्यारासेराथेरिअम लिन्शियाएन्स’ नाम दिइएको उक्त जीव २.६५ करोड वर्षअघि अस्तित्वमा थियो। झन्डै २१ टन तौल भएको उक्त गैँडा चारवटा अफ्रिकी हात्तीजत्रो ठूलो र जिराफभन्दा अग्लो भएको वैज्ञानिकहरूको भनाइ छ।

सिङ नभएको उक्त गैँडाले चर्नका लागि सात मिटर अग्ला रूखका टुप्पासम्म टाउको पुर्‍याउन सक्थ्यो। यो निष्कर्ष कान्सु प्रान्तमा भेटिएका जीवाश्मको अध्ययन गरेर निकालिएको हो।

यसबारे ‘कम्यूनिकेशन्स बायोलजी’ जर्नलमा प्रकाशित शोधमा वैज्ञानिकहरूले सन् २०१५ मा फेला परेका जीवाश्मको विश्लेषण गर्दा अन्य भीमकाय गैँडाभन्दा यो नितान्त भिन्न प्रजातिको भएको सङ्केत पाइएको जनाएका छन्।

उक्त गैँडाको खप्पर र च्यापुको हड्डी पूर्णतः सुरक्षित अवस्थामा थिए। अध्ययनबाट उक्त जीवको खप्पर लाम्चो भएको र सुँडको आकारमा विकसित नाक अहिले पनि अस्तित्वमा रहेको ‘टपिर’ जीवसँग मिल्दोजुल्दो भएको वैज्ञानिकहरूको निष्कर्ष छ।

पैचिंगस्थित ‘इन्स्टिट्यूट अफ भर्टिब्रेट प्यालिअन्टलजी एन्ड प्यालिओएन्थ्रपलजी’का डा. तङ ताओले उक्त अध्ययनको गर्नुभएको थियो । बिबिसी

Facebook Comments