Sat. May 18th, 2024

जसपा यादव पक्षद्वारा ठाकुर र महतोसहित चार नेतालाई निष्कासन

- महन्थ ठाकुर पक्षद्वारा उपेन्द्र यादवलाई जसपा पार्टीबाट निष्कासन

काठमाडौं, २०७८ जेठ १८ गते मंगलबार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको नेता राम सहाय यादवले जानकारी दिनुभयो ।

साथै पार्टी सदस्यबाट निष्कानसन गरिएको जानकारी निर्वाचन आयोगमा दिएको समेत उहाँले बताउनुभयो । यसअघि अध्यक्ष यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए । तर, तीन दिनसम्म पनि स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई पार्टी सदस्यबाटै निष्कासन गरिएको नेता राम साहय यादवले जानकारी दिनुभयो ।

त्यसो त जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको थियो ।

महन्थ ठाकुर पक्षद्वारा उपेन्द्र यादवलाई जसपा पार्टीबाट निष्कासन

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बबरमहलमा बसेको अध्क्षय ठाकुर पक्षको बैठकले अर्का अध्यक्ष यादवलाई कारबाही गरेको केन्द्रीय सदस्य सन्तोष मेहताले जानकारी दिनुभयो ।

यसअघि आजै पार्टी कार्यालय बालकुमारीमा बसेको यादव पक्ष कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेर कारबाही गरेको थियो ।

अध्यक्ष यादवले गरेको कारबाही पार्टीको विधान विपरित भएको ठाकुर पक्ष बैठकको ठहर छ । अध्यक्ष यादवलाई पार्टीको कारवाही गरेकोबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको केन्द्रीय सदस्य मेहताले जानकारी दिनुभएको छ ।

यसैबीच जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनुभएको छ ।

पार्टी कार्यलय बालकुमारमा बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, नेताद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको भन्दै अध्यक्ष यादवले निर्वाचन आयोगमा मंगलबार अपराह्न निर्वाचन आयोगमा पत्र पठाउनुभएको हो । यादवले पठाउनुभएको उक्त पत्र आयोगमा दर्ताा भएको छ ।

अध्यक्ष यादवले राजनीतिक दल सम्बन्धी ऐन  बमोजिम दलको दर्ता कितावबाट नाम हटाई अद्यमवधिक गर्न अग्रह गर्नुभएको छ । गोरखापत्र अनलाईन

Facebook Comments