Sat. May 4th, 2024

कोरोना भाइरसका भेरिअन्टहरूलाई नयाँ नाम दिने विश्व स्वास्थ्य सङ्गठनको निर्णय

काठमाडौं, २०७८ जेठ १८ गते मंगलबार । कोरोनाभाइरसका नयाँ नयाँ प्रकारहरू निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ।

अबदेखि उसले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरिअन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ।

जहाँ भेरिअन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो।

जसअनुसार आइन्दा यूके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ।

यसै महिनाको सुरुमा भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरिअन्टलाई भारतीय भेरिअन्ट भनिएकोमा आलोचना गरेको थियो।

हुन त डब्ल्यूएचओले आधिकारिक रूपमा त्यसको नाम भारतीय भेरिअन्ट कहिले पनि भनेको थिएन।

विश्व स्वास्थ्य सङ्गठनकी कोभिड-१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै “भेरिअन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न” भन्नुभएको छ ।

उहाँले सङ्क्रमण विस्तार रोक्न भेरिअन्टहरूको सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक डेटा बाँड्न आवश्यक भएको बताउनु भयो।

अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएकार चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरिअन्टलाई जनाउनेछन्।

तिनका नामहरूको पूर्ण विवरण डब्ल्यूएचओको वेबसाइटमा राखिएको छ। बिबिसी

Facebook Comments