Sun. May 5th, 2024

शैक्षिक प्रमाणपत्रको आधारमा ५ प्रतिशत व्याजमा २५ लाखसम्म कर्जा, कोरोनाले ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति

काठमाडौं, २०७८ जेठ १५ गते शनिबार । सरकारले शैक्षिक योग्यताको आधारमा उद्यम गर्नेलाई सहुलियत कर्जा दिने भएको छ । स्नातकोत्तर भन्दा बढी शैक्षिक योग्यता भएका व्यक्तिलाई ५ प्रतिशतसम्म व्याजमा २५ लाखसम्म शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा दिने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आ।व २०७८/०७९ को बजेट सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराउनु भएको हो ।

यसै गरी वजेटमा कोरोनाबाट ज्यान गुमाएकाहरुका सन्तानलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिनुभएको हो । यस्तै सरकारले १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । आउँदो दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याइने र नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने पनि अर्थमन्त्रीले जानकारी दिनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेटमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई बिस्तार गरेर कक्षा कोठा, प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याब, खेल मैदान र खेल सामाग्रीको व्यवस्था गरिने जानकारी पनि अर्थमन्त्री पौडेलले दिनुभयो ।

Facebook Comments