Sat. May 18th, 2024

महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौं : प्रधानमन्त्री ओली

काठमाडौं, २०७८ जेठ १३ गते बिहीबार । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको २२औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उहाँले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

“महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्त्वपूर्ण हो ।”

उहाँले नागरिककै जीवन रक्षाका लागि रु ३००÷४०० पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई रु ५० हजार तिरेर ल्याइएको र खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन पाएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर स्थापनाकालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र स्वायत्त ढङ्गले काम गर्न दिनका लागि सरकार सदा सजग रहेको बताउँदै आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको जानकारी पनि दिनुभयो ।

आयोगले सरकारलाई गरेको सिफारिसप्रति ध्यान दिइएको जनाउँदै उहाँले सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै आएको र दिगो विकासका लक्ष्यको घरेलुकरणका साथै कार्यान्वयनमा जोड दिएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले हिंसा अन्त्य गरी मानवअधिकारमा सुधार गर्नका लागि सङ्गठित समूहबाट हुने मानवअधिकार उल्लङ्घनका घटना नियन्त्रणका लागि सरकारले ध्यान दिएको जनाउँदै सामाजिक न्याय, र सम्मानपूर्वक बाँच्न पाउने सुरक्षा प्रत्याभूतिमा सरकारले काम गरिरहेको बताउनुभयो ।

सो अवसरमा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको रक्षाका लागि आयोगले सरकारलाई गरेका सिफारिसको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो । रेडियो नेपाल

Facebook Comments