Fri. May 17th, 2024

संसद् विघटनविरुद्ध विपक्षी पाँच दलको सर्वोच्च जाने निर्णय

काठमाडौं, २०७८ जेठ ८ गते शनिबार । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पाटी र राष्ट्रिय जनमोर्चा सहितका पाँच दल संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध भोली आइतबार सर्वोच्च अदालत जाने भएका छन् । संसद् भवनमा आज बसेको विपक्षी दलहरुको बैठकले सो निर्णय गरेको हो ।

उक्त बैठक लगत्तै जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा बदनियतपूर्ण किसिमले प्रतिनिधिसभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको छ।” उनीहरूले त्यसलाई “प्रतिगामी कदम” भन्दै मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको निष्कर्ष निकालेको जनाएका छन्।

सरकार विरोधी गठबन्धनले एकताबद्ध भई “कानुनी र राजनीतिक रूपमा” सरकारको कदमको प्रतिवाद गर्ने जनाएको छ। सो बैठकमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी-नेपालका एकजना अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहित सो पार्टीका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments