Tue. Sep 17th, 2024

तिब्बत जनसरकारद्वारा नेपाललाई अक्सिजन सिलिण्डर, आइसीयू बेड, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, २०७८ जेठ ६ गते बिहीबार । चीनको तिब्बत जनसरकारले नेपाललाई लिक्विड अक्सिजन, भरिएको अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटरलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ल्हासास्थित नेपाली महावाणिज्यदूताबासमा आयोजित एक कार्यक्रममा तिब्बत जनसरकारका कार्यकारी उपाध्यक्ष चियाङ चेले ती स्वास्थ्य सामग्री नेपाली महावाणिज्यदूत नवराज ढकाललाई आज हस्तान्तरण गर्नुभएको हो।

हस्तान्तरलगत्तै १५० वटा सिलिण्डरमा भरिएको ३० मेट्रिक टन लिक्विड अक्सिजन ल्हासाबाट ढुवानी भइरसकेको र भोलि शुक्रबारसम्म तातोपानी पुग्ने बताइएको छ । यसबाट ४० केजी क्षमताका ६ हजार अक्सिजन सिलिडर भर्न सकिने ल्हासास्थित नेपाली महाबाणिज्यदूताबासले जनाएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूत हौ यानछिका अनुसार तिब्बत जनसरकारबाट अनुदानमा प्राप्त आकस्मिक स्वास्थ्य सामग्रीमा ८ सय वटा भरिएका अक्सिजन सिलिण्डर, २०० आइसीयू बेड, पाँच वटा भेन्टिलेटर, १० थान अक्सिजन कन्सन्ट्रेटर, १५ हजार एन्टिजिन किटलगायत छन् ।

नेपाली नियोगकै अनुरोधमा शान श्रीस्थित एक कम्पनीले उपलब्ध गराएको ३० थान अक्सिजन कन्सन्ट्रेटर पनि भोलि नै ल्हासाबाट काठमाडौँतर्फ पठाउने तयारी भइरहेको छ । ल्हासाबाट काठमाडौंसम्मको ढुवानीको व्यवस्थापन सिल्क ट्रान्सपोर्टले निःशुल्क गरिदिने भएको छ । त्यसैगरी तिब्बत गुडवील फाउण्डेसनले अर्को हप्ता ५० वटा कन्सन्ट्रेटर उपलब्ध गराउने बताइएको छ ।

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले केही समयअघि नेपाल, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र श्रीलंकाका विदेशमन्त्रीसँगको भर्चुअल बैठकमा नेपाललाई कोरोना महामारीविरूद्ध लड्न चीनको केन्द्रीय तथा स्थानीय सरकार एवम् विभिन्न संस्थाले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । सोही प्रतिवद्धताअनुसार तिब्बत जनसरकार तथा त्यहाँका संघसंस्थाले ती सामग्री उपलब्ध गराएका हुन् ।

यसअघि ल्हासा नगरपालिकाले सहयोगस्वरुप पठाएको चारवटा भेन्टिलेटर पाँच दिनअगाडि मात्रै काठमाडौं महानगरपालिकामा पुर्याइएको थियो । ती भेन्टिलेटरको मूल्य ८ लाख चिनियाँ युवान (झण्डै १ करोड ५० लाख रुपियाँ) बराबर रहेको ल्हासा जनसरकारले जनाएको छ । काठमाडौं र तिब्बत शहरबीच भगिनी सम्बन्ध स्थापित छ ।

सिछुवान प्रान्तीय जनसरकारले अनुदानकै रूपमा ३ दशमलव ६ मिलियन चिनियाँ युवान (५ करोड ५८ लाख रूपियाँ) बराबरका झण्डै ४ टन मास्क, ४ टन पीपीइ, थर्मोमिटरलगायतका स्वास्थ्य सामग्री नेपाल पठाएको थियो । सिछुवान जनसरकारले आफ्नै खर्चमा सिछुवान एअरको विमान कार्गो गरी हिजो बुधबार नै ती सामग्री काठमाडौस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुर्याइदिएको समाचार नेपाल समाज अनलाईनले लेखेको छ ।

Facebook Comments