Tue. Sep 17th, 2024

लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प

- पराकम्प आउने क्रम जारी, घर भत्कँदा दुईजना घाइते , ठूलाे क्षति छैन

काठमाडौं, २०७८ जेठ ५ गते बुधबार । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (बुधबार) बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

तस्विर: सम्वाद खवर

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाडौ, भक्तपुर र ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुलीमा समेत महसुस गरिएको थियो ।

भूकम्प र स्थानियको अनुभव

लमजुङको मर्स्याङदी  गाउँपालिका भुलभुले क्षेत्र केन्द्रविन्दु बनाएर आज विहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ हेक्टरको भूकम्प गएको छ ।

भूकम्पको ठूलो झट्काका कारण मानिसहरु त्रसित भएर घर बाहिर निस्केका छन् । लमजुङ केन्द्रविन्दु भएर ठूलो धक्का महसुस भएपछि नागरिक निकै आत्तिएका छन् । कोरोना संक्रमणको अवस्थामा घरमै सुरक्षितका साथ बस्दै आएका नागरिक भूकम्पको डरले मास्कविना बाहिर निस्कन बाध्य भएका छन् । बेंसीसहर नगरपालिका ८ की सुमित्रा भुजेलले भूकम्पको निकै ठूलो धक्का महसुस भएको बताउनुभयो । सुतिरहेको अवस्थामा एक्कासि भूकम्प आउँदा हतारहतार उठेर बाहिर निस्केको बताउनुभयो । ‘भूकम्पलाई विर्सेको थिएँ । आजको भूकम्पले २०७२ बैशाख १२ गतेको याद आयो’ उहाँले भन्नुभयो, ‘कोरोनाको डर एकातिर छ, अर्को डर भूकम्पको । अब कसरी बस्ने होला । बाहिर निस्कन कोरोनाले दिँदैन । भित्र बस्न भूकम्पले ।’

बेंसीसहर नगरपालिका ८ कै प्रमोद अधिकारीले बैशाख १२ गतेको भूकम्पको याद आउने गरी भूकम्प गएको बताउनुभयो । भूकम्पको ठूलो धक्का आएपछि जुरुक्क उठ्दै सडकमा निस्केको बताउनुभयो । उहाँले भन्नुभयो-‘हामीलाई अहिले कोरोनाको डर थियो । भूकम्प त विर्सिसकेका थियौं । आजको पराकम्पले भूकम्पको सम्झाना आयो । सरकारले भन्छ, कोरोना संक्रमणको समयमा बाहिर निस्कन पाइँदैन । भूकम्पले भन्छ, बाहिर गएर बस ।’

भूकम्प जाँदा मर्स्याङदी गाउँपालिका ५ घर भई बेंसीसहर नगरपालिका ६ चनौटे बस्दै आएका ३६ बर्षीया उमा गुरुङ घर भत्किदा घाइते भएका छन् । बेंसीशहर नगरपालिका ११ चिति रामचोकफाँटमा घरमा क्षति पुग्दा एकजना घाइते भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो । यस्तै, मस्र्याङदी गाउँपालिका ६ ठुलिबेंसीका २२ बर्षीय गोविन्द अधिकारी घरबाट हाम फाल्ने क्रममा घाइते भएको जानकारी आएको छ ।

मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिका क्षेत्रमा घरहरु भत्किएको जानकारी आइरहेपछि एकिन विवरण नआएको बताउनुभयो । क्षतिको विवरण संकलन भइरहेको उहाँले बताउनुभयो ।

भूकम्प गएपछि बेंसीसहरका चोकचोकमा मानिसको भिडभाड बढेको छ । पटकपटक झट्का आइरहँदा निकै आत्तिएका मानिसहरुले कोरोनासंगै अब भूकम्पबाट डराउनुपरेका बताएका छन् । भूकम्पको धक्का लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायतको ठाउँमा धक्का महसुस भएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments