Tue. Sep 17th, 2024

हमास विद्रोहीको क्षमता वर्षौंपछाडि धकेलिदिएको इजरायलको दाबी

काठमाडौं, २०७८ जेठ ५ गते बुधबार । इजरायलले नौ दिनदेखि लगातार बमबारी गरेका कारण गाजास्थित हमास विद्रोहीको क्षमता वर्षौपछाडि धकेलिएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दाबी गर्नुभएको छ ।

त्यहाँ युद्धविराम गर्न अन्तर्राष्ट्रिय समुदायले अनुरोध गरिरहे पनि इजरायलले कारबाही जारी राखेको छ। मङ्गलवार दक्षिण इजरायलमा प्यालेस्टिनी विद्रोहीहरूले रकेट प्रहार गर्दा दुई विदेशी कृषि श्रमिक मारिएका छन्।

इजरायलले गाजामा हवाई हमला जारी राखेको छ। वेस्ट ब्याङ्कमा रमल्लाह नजिकै भएको प्रदर्शनका बेला इजरेली प्रहरीसँगको झडपमा परी कम्तीमा तीनजना प्यालेस्टिनी मारिएका छन्।

सङ्घर्षविराम गराउन थालिएका कूटनीतिक पहलहरू सफल हुन सकेका छैनन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा फ्रान्सले इजिप्ट तथा जोर्डनसँग मिलेर युद्धविरामका निम्ति एउटा मस्यौदा प्रस्ताव दर्ता गराएको छ।

मङ्गलवार गाजामा सहायता सामग्री ढुवानी गर्न दिन इजरायलले केही क्षण सिमाना खोलिदिएको थियो। तर प्यालेस्टीनी विद्रोहीको रकेट र मोर्टर आक्रमण भएपछि सिमाना फेरि बन्द गरिएको छ।

प्रधानमन्त्री नेतान्याहुका अनुसार गाजाको नियन्त्रण गर्दै आएको हमास समूहले अनपेक्षित प्रहार खेपिरहेको छ। सबै इजरायली जनताका निम्ति शान्ति बहाल नभएसम्म कारबाही जारी रहने उहाँले बताउनु भयो । बिबिसी

Facebook Comments