Mon. May 13th, 2024

एमाले भित्रको अन्तरसंघर्ष चरमोत्कर्समा, खनाल-नेपाल पक्षका सबै सांसदले राजीनामा दिने

- वार्ता र सहमतिका प्रयास भएका हुन् तर सहमतिका लागि ओलीजी तयार देखिनुभएन । त्यसैले राजीनामा गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं : नेपाल

काठमाडौं, २०७८ बैशाक २६ गते आईतबार । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् ।

यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको हो । पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प नभेटिएको नेता माधवकुमार नेपालले बताउनु भयो ।

नेता नेपालका अनुसार शनिबारको बैठकमा नेताहरूले ओली कुनै पनि हालतमा नसच्चिने र उनको जालोमा पर्न नहुने बताएका थिए र त्यसमा सबै सहमत छन् । ‘वार्ता र सहमतिका प्रयास भएका हुन् तर सहमतिका लागि ओलीजी तयार देखिनुभएन,’ नेपालले भन्नुभयो, ‘त्यसैले हामीले राजीनामा गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं, भोलि (आइतबार) एकपटक बैठक बसेर राजीनामा दिन्छौं ।’ नेता नेपालले फागुन २८ गते ओली समूहले एकलौटी रूपमा गरेको निर्णयको खारेजी र २०७५ जेठ २ गतेमै पार्टीलाई फर्काउने आफूहरूको प्रस्तावमा ओली उदासीन भएको बताउनु भयो । उहाँले आफूहरूले सांसद पदबाट राजीनामा दिनुलाई एमालेमै अन्तरसंघर्ष गर्ने भनेर बुझ्न आग्रह गर्नुभयो । कान्तिपुर

Facebook Comments