Sun. May 19th, 2024

महामारी नियन्त्रणका लागि सरकार संवेदनशील : प्रधानमन्त्री

- देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं, २०७८ बैशाक २० गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणको महामारीका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुँदै हरेक नागरिकको जीवन रक्षाका लागि सरकारले सबै क्षमताको प्रयोग गरिरहेको र सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले महामारीकै बीचमा आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रक्रियाको सुरु गरिसकेको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले अहिलेसम्म पहिलो खोपको मात्र २१ लाख र दोस्रो मात्राको खोप लगाउने ३ लाख ७० हजार पुगिसकेको जानकारी दिनुभयो । आफ्ना नागरिकलाई खोप लगाउनेमा दक्षिण एसियामा नेपाल दोस्रो भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्रको सहयोग र सरकार आफैले पनि छिटो र पर्याप्त मात्रामा खोप लगाउन प्रयत्नशील रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आज राती १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान तथा वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले, ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गर्ने, सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याउने र लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही समेत गरिने बताउनुभयो ।

स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । यस्तै, कोरोना रोकथाम तथा उपचारमा प्रत्यक्ष संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने घोषणा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम र लिएका पहलमा सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले, महामारी नियन्त्रणमा अग्रपङ्क्तिमा रही प्रत्यक्ष संलग्न भएका स्वास्थ्यकर्मी लगायतकालाई विचलित नभई आफ्नो कर्तव्य निर्वाह गर्न पनि आव्हान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक सङ्घसंस्था एवं प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई कोरोना विरुद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो । महामारी विरुद्ध अग्रपङ्क्तिमा कार्यरत सबैको भूमिका उल्लेखनीय रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले सङ्क्रमितको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने सबैको त्याग, समर्पण र लगनशीलताको प्रशंसा गर्दै धन्यवाद दिनुभयो ।

प्रधानमन्त्रीले महामारीबाट संक्रमित भई अस्पतालमा उपचार गराइरहनु भएका र घरमै आइसोलेसनमा बसी स्वास्थ्य लाभ गरिरहनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै हालसम्म ३ हजार भन्दा बढी देशवासीले अनाहकमा महामारीबाट जीवन गुमाउनु परेकोमा दुःख व्यक्त गर्नुहुँदै उहाँहरूका शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभयो । रेडियो नेपाल

Facebook Comments