Sun. May 19th, 2024

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ)

काठमाडौं, २०७८ बैशाक २० गते सोमबार । 

देशवासीका नाममा प्रधानमन्त्रीले गर्नु भएको सम्बोधनको पूर्ण पाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
– एक वर्ष अघि यसै समयतिर हामीहरू कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौँ । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बिच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौँ र त्यही अनुरूप योजनाहरू बनायौँ । एक बर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा रहेन । देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो । सबैको सहयोगमा गत वर्षको कात्तिक अन्त्यसम्ममा हामी महामारीलाई नियन्त्रण गर्ने स्थितिमा आइपुगेका थियौँ ।
– यस सफलताको लागि महामारी विरुद्ध अग्रपङ्क्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र सफाइकर्मी सहित सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारीहरूको भूमिका उल्लेखनीय रह्यो । त्यस असामान्य घडीमा सङ्क्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने सबैको त्याग, समर्पण र लगनशीलताको म उच्च प्रशंसा गर्दछु ।

– अहिले हामी कोभिड–१९ महामारीको दोस्रो लहरको सामना गर्दैछौं । कोभिडको यो लहर नयाँ स्वरूपमा थप घातक रुपमा देखा परेको छ । सङ्क्रमणको दर र मृत्युदर गत बर्षको तुलनामा बढी छ । हिजोको २४ घण्टाको तथ्याङ्कलाई उदाहरणको रुपमा लिँदा, पीसीआर परीक्षण गरिएका १६ हजार ७७० केसमध्ये झण्डै ४३ प्रतिशत अर्थात् ७ हजार २११ मा संक्रमण देखिएको छ ।

– हिजो साँझसम्म कूल संक्रमित सङ्ख्या ३ लाख ३६ हजार ३० पुगेको छ । कूल सङ्क्रमितमध्ये निको भएका संक्रमित ८४.५ प्रतिशत, निको हुने क्रममा रहेका संक्रमित १४.५ प्रतिशत र ज्यान गुमाउनेको सङ्ख्या ०.९९ प्रतिशत छ । ३० जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित सङ्ख्या छ । ७२ जिल्लामा कोभिड–संक्रमित रेकर्ड भएका छन् । वैशाख १९ गतेसम्मको कूल सङ्क्रमितमा ३८.४ प्रतिशत काठमाडौँ जिल्लामा मात्रै र ५०.४ प्रतिशत काठमाडौँ उपत्यकामा मात्रै छन् ।

– यस महामारीबाट संक्रमित भई अस्पतालमा उपचार गराइरहनु भएका र घरमै आइसोलेसनमा बसी स्वास्थ्य लाभ गरिरहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

– हालसम्म ३ हजार भन्दा बढी देशवासीले अनाहकमा यस महामारीबाट जीवन गुमाउनु परेकोमा दुःख व्यक्त गर्दछु र उहाँहरूका शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

दिदीबहिनी तथा दाजुभाइहरु,
– गत बर्ष यो महामारी नेपाल भित्रिनुअघि नै सरकारले यसको रोकथाम र नियन्त्रणका लागि सरकारी निकायबिच समन्वय गरी प्रभावकारी काम गर्न माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रीय निर्देशक समिति गठन गरेको सबैलाई जानकारी नै छ । त्यसैको योजनामा देशभर होल्डिङ सेन्टर र आइसोलेसन केन्द्र बनाइएको थियो, क्वारेनटिनको व्यवस्थापन र अस्पतालहरूमा शीघ्र उपचारको व्यवस्था मिलाइएको छ । शून्यको सङ्ख्यामा रहेको पीसीआर परीक्षण ल्याब सङ्ख्या क्रमशः बढाउँदै लगिएको थियो । हाल सरकारी र निजी स्तरका गरी ८७ स्थानमा पीसीआर परीक्षण हुने गरेको छ । सबैजसो अस्पताललाई कोभिडको उपचार गर्न सक्ने स्थितिमा पुर्‍याइएको छ ।

गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ शय्याका आधारभूत अस्पताल निर्माण र केन्द्र तथा प्रदेशमा सङ्क्रामक रोग अस्पताल निर्माणलाई तीव्रता दिइएको छ ।

– अप्ठ्याराकै बिचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौँ । आफ्ना देशवासीलाई कोरोना विरुद्ध खोप लगाउनेमा हामी दक्षिण एसियामै भारतपछि पहिलो मुलुक हौँ । हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस सङ्ख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपङ्क्तिमा खटिने व्यक्तिहरू रहेका छन् ।

– मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैँ आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको छ । चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।

दिदीबहिनी तथा दाजुभाइहरु,
– कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील छ । नागरिकको जीवन रक्षा यस सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु ।

– त्यसैले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन् । सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वयात्मक एवम् प्रभावकारी ढङ्गले कोभिड विरुद्धको लडाइँलाई कार्य अघि बढाउन प्रदेश केन्द्रित हुने गरी अहिले नेपाल सरकारका एक÷एक जना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकिएको छ ।

– सङ्क्रमणको साङ्लो चुँडाउन अस्पताल वा आइसोलेसन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरूको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ । यसलाई थप कडाई गरिंदै छ र प्रभावकारी ढङ्गले लागू गर्न पहिलेझैँ सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ।

– यही २०७८ वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको छ ।

– २०७८ वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको छ ।

– स्थल मार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ । नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबिच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत् सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

– भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइने छ । सबै तहमा कन्ट्याक ट्रेसिङ बढाउन लगाइएको छ ।

– स्थल मार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने छ । कोही सङ्क्रमित पाइएमा उनीहरूलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको छ ।

– प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेनटिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।

– सरकारी तथा अन्य कार्यालयमा एक चौथाइ कर्मचारीबाट कार्यसम्पादन गराउन शुरु गरिएको छ । अत्यावश्यक बाहेक अन्य कार्यालय, सङ्घसंस्था वैशाख मसान्तसम्म बन्द रहनेछन् ।

– नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ ।

– वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौँ उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठुला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ ।

– प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठुला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्नेछन् ।

– सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभा हल, पार्टी प्यालेस, होटल, कारखाना, गोदाम घर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेनटिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ ।

– सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शय्या र तीमध्ये प्रयोग भएका वा नभएका शय्याको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु पर्नेछ । कुनै अस्पतालले विवरण पूरा नपठाई शय्या लुकाएको भेटिएमा कारबाही हुनेछ ।

– ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिनेछ । सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ । लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिनेछ । लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने छ । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।

– कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवन रक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिनेछ ।

– स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।

– जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ ।

– सङ्क्रमणको साङ्लो तोड्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ । महामारी नियन्त्रण भएसँगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने नै छ ।

– जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्नेछन् । परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्नेछन् । अन्तर मन्त्रालय समन्वयमा काम गरिनेछ ।

दिदीबहिनी तथा दाजुभाइहरु,
– महामारीको सङ्क्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पूरा गर्छ । यसलाई प्रभावकारी बनाउन सरकारका साथै आम नागरिकको पनि उत्तिकै भूमिका हुन्छ । त्यसैले,
– सकभर घरमै बसौँ, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔँ,
– समय समयमा साबुन पानीले हात धोऔँ वा स्यानिटाइजरले हात सफा गर्ने गरौँ,
– भोजभतेर तथा पर्व घरमै मनाऊँ,
– भौतिक दूरी कायम गरौँ, भिडभाडबाट टाढै रहौँ,
– हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔँ,
– चिकित्सक, विज्ञ तथा प्राविधिकहरूको सल्लाहलाई पालना गरौँ,
– धैर्य गरौँ, संयमता अपनाऔँ,
– सावधान होऔँ तर आतङ्कित नहोऔँ ।

– गत वर्ष गरिएको बन्दाबन्दी र जारी गरिएको निषेधाज्ञाका समयमा हामीले पालना गरेको अनुशासनले महामारीको असर धेरै हदसम्म कम हुन गएको थियो । यसमा भएको हेलचक्रयाईले क्रमशः महामारी फैलिन बल पुर्‍याएको तथ्यलाई हामी सबैले मनन गरौँ । नभुलौँ, महामारीले कसैलाई पनि छाड्दैन ।

– अन्त्यमा, महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम र लिएका पहलमा सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, चालक/सहचालक, सफाइकर्मी एवम् सम्बद्ध सबैलाई विचलित नभई आ–आफ्नो कर्तव्य निर्वाह गर्न म हार्दिक आह्वान गर्दछु ।

– राजनीतिक दलका नेता/कार्यकर्ता, सामाजिक सङ्घसंस्था एवम् प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई कोभिडविरुद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्न समेत आग्रह गर्दछु ।

– Protection of human lives is supreme for us. Life comes first of all other considerations. Since the outbreak of the COVID-19 pandemic, the Government of Nepal has given the highest priority to its prevention, control and treatment. We have strengthened our health infrastructure facilities, widened tests coverage, enhanced health personnel’s capacity and started vaccinating people. We received meaningful support from our friends and well-wishers over the last 14 months, which helped us a lot in containing, preventing the disease and for treatment of the people.
– I would like to express my sincere gratitude for all the support we have received in this course. Despite our utmost effort, the second wave of COVID has severely hit the country with an increased number of infected people and mortality rate. I am aware that this invisible enemy has tested our ability and exposed our vulnerability globally. But I do believe that this deadly disease can be overcome through our collective efforts. We are of the view that vaccines and critical care medicines are global goods and everyone should have access to it. Since we are living in an interconnected and interlinked world, a pandemic like this spares no one and no one is safe. It is in this vein I would like to request our neighbours, friendly countries and international organisations to help us with Vaccines, Diagnostic equipment and kits, Oxygen therapy, Critical care medicines and Critical care furniture to support our ongoing efforts to combat the pandemic.
Thank you!
धन्यवाद!

रेडियो नेपाल

Facebook Comments