Sun. May 19th, 2024

पाकिस्तानी प्रधानमन्त्रीद्वारा कोरोना महामारी झेलिरहेका भारतीयप्रति सहानुभूति

- स्वास्थ्य सामग्री सहयोग गर्ने प्रस्ताव

काठमाडौं, २०७८ बैशाक १२ गते आईतबार ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोरोना महामारी झेलिरहेका भारतीय नागरिकप्रति सहानुभूति प्रकट गर्नुभएको छ। ‘छिमेकी मुलुक र पूरा विश्वले नै घातक भाइरसको सामना गर्नुपरिरहेको छ । कोरोना भाइरसको सामना गरिरहेका सबैको म शीघ्र स्वास्थ्यलाभको कामना गर्छु,’ प्रधानमन्त्री खानले सामाजिक सञ्जालमा लेख्नु भएको छ। उहाँले कोरोना महामारी विश्वव्यापी संकट भएकाले सबै मिलेर यसविरुद्ध लड्नुपर्ने पनि बताउनु भएको छ ।

यसैबीच भारतमा कोरोना संक्रमणले अवस्था भयावह भएपछि छिमेकी मुलुक पाकिस्तानले सहयोगको प्रस्ताव गरेको छ । तीन दिनयता भारतमा दैनिक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने २ हजारभन्दा बढीको दैनिक मृत्यु भएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै महामारीसँग जुधिरहेको भारतलाई सहयोग गर्न चाहेको बताएको हो । पाकिस्तानी विदेश मन्त्रालयले भारतलाई अत्यावश्यक मेडिकल उपकरण दिन चाहेको बताएको छ ।

विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘महामारीको यस संकटको घडीमा हामी भारतका नागरिकको साथमा छौं । सहयोगका रुपमा पाकिस्तान भारतलाई भेन्टिलेटर बाई प्याप, डिजिटल एक्सरे मेसिन, पीपीई किट तथा अत्यावश्यक स्वास्थ्य सामग्री दिन चाहन्छौं ।’ पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले पनि ट्विटमार्फत भारतलाई सहयोगको प्रस्ताव गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, ‘पाकिस्तान मानवतालाई प्राथमिकता दिने नीतिमा विश्वास गर्छ ।’

बिबिसीका अनुसार पाकिस्तानले भारतीय अधिकारीहरुसँग छिटोभन्दा छिटो भेटेर उक्त सहयोग उपलब्ध गराउन सक्ने पनि बताएको छ । ‘दुवै मुलुक महामारीका कारण निम्तिने चुनौतीलाई सामना गर्न सम्भावित उपायको खोज पनि गर्न सक्नेछन्,’ वक्तव्यमा भनिएको छ ।

तर भारतले अहिलेसम्म पाकिस्तानको सहयोगको प्रस्तावबारे कुनै प्रतिक्रिया दिएको छैन ।

Facebook Comments