Fri. May 17th, 2024

सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने सबैलाई प्रेरणा मिलोस्: राष्ट्रपति भण्डारी

- भूकम्प दिवसमा राष्ट्रपतिको सन्देश

काठमाडौं, २०७८ बैशाक १२ गते आईतबार ।

छैठौं भूकम्प दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक सन्देश दिनुहुँदै २०७२ सालको भूकम्पपछिको उद्धार‚ राहत, पुनःस्थापना तथा पुनर्निर्माणका सिकाईले भविष्यमा विपद्‍बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने सबैलाई प्रेरणा मिलोस् भनी कामना समेत गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्ने बताउनु भएको छ । राष्ट्रपति भण्डारीले पुनर्निर्माणमा हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनु भएको छ ।

नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण भूकम्प, बाढी पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै उहाँले पर्यावरणमैत्री एवम् विपदको सामना गर्न सक्ने भौतिक संरचना निर्माणमा जोड दिनुभएको छ ।

राष्ट्रपतिबाट जारी सन्देशमा लेखिएको छ, ‘भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास, सार्वजनिक तथा सरकारी संरचनाहरुको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्न र भवनसंहिताअनुसार दिगो नवनिर्माण कार्यका लागि म सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु ।’

छैठौँ भूकम्प स्मृति दिवसको अवसरमा राष्ट्रपति भण्डारीको सन्देश

वि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाउनु हुने दाजुभाइ तथा दिदीबहिनीहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

विनाशकारी भूकम्पले हजारौँको ज्यान जानेगरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऎतिहासिक धरहरालाई भत्काएको भएता पनि हाम्रो राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न सकेन । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण गर्ने र प्रभावितहरूको पुनःस्थापनाका कार्यहरूलाई लगभग अन्तिम चरणमा पुर्‍याएको छ । हालसम्म लाखौँको संख्यामा निजी आवास तथा हजारौँको संख्यामा विद्यालयहरूको पुनर्निर्माण भैसकेको छ भने केही निर्माणाधीन रहेका छन् । भूकम्पबाट क्षतिग्रस्त भएका रानीपोखरी‚ दरबार हाइस्कूल‚ दशरथ रंगशाला, धरहरा लगायतका ऎतिहासिक‚ सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वका संरचनाहरूको पुनर्निर्माण सम्पन्न हुनु सुखद् विषय हो । यस क्रममा धेरै सरकारी भवन‚ मठ‚ मन्दिर‚ गुम्बा आदिको पुनर्निर्माण तीव्र गतिमा भैरहेको छ ।

पुनर्निर्मित भौतिक संरचनाहरूमा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग गरिएको छ । अब बन्ने संरचनाहरूमा पनि हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्दछ भन्ने कुरामा सचेष्ट रहन सम्बद्ध पक्षको विशेष ध्यानाकर्षण गर्न चाहन्छु । यस अवसरमा म पुनर्निर्माण कार्यमा अहोरात्र खटिने राष्ट्रसेवक‚ कालिगढ‚ श्रमिक एवं दातृ निकायहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

हाम्रो देशको भौगोलिक अवस्थिति र बनावटका कारण हामी भूकम्प, बाढी‚ पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छौं । यस संवेदनशीलतालाई ध्यानमा राख्दै हामीले पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार तथा संरचनाहरू निर्माण गर्नु पर्दछ । भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास¸ सार्वजनिक तथा सरकारी संरचनाहरूको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्न र भवनसंहिताअनुसार दिगो नवनिर्माण कार्यका लागि म सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु ।

सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वतयारीका साथै सामुदायिक सचेतना अभिवृद्धि गर्दै चुस्त व्यवस्थापनसहित प्रभावकारी प्रतिकार्यका लागि सदा तयारी अवस्थामा रहन पनि म सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछु ।

अन्तमा‚ २०७२ सालको भूकम्पपछिको उद्धार‚ राहत, पुनःस्थापना तथा पुनर्निर्माणका सिकाईले भविष्यमा विपद्‍बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न थप सहयोग पुर्‍याउने छ भन्ने विश्वासका साथ भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने सबैलाई प्रेरणा मिलोस् भनी कामना गर्दछु ।

धन्यवाद ।

मितिः २०७८ साल वैशाख १२ गते आइतबार ।

Facebook Comments