Fri. May 3rd, 2024

धरहरा ढल्दा दिवङ्गत हुने परिवारलाई रोजगारी दिने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं, २०७८ बैशाक ११ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः निर्मित धरहराको आज उद्घाटन गर्नुभएको छ । काठमाडौँ उपत्यकाको  सुन्धारमा अवस्थित रहेको धरहराको २०औँ तलामा रहेको बालकोनीबाट पुष्प वृष्टि समेत गर्दै प्रधानमन्त्री ओलीले ऐतिहासिक महत्त्व बोकेको पुनः निर्मित धरहराको उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले धरहरा पुनःनिमार्ण ऐतिहासिक र गौरवको काम भएको भन्नुहुँदै धरहरा पुनःनिमार्ण सफलतापूर्वक सम्पन्न गर्ने पुनर्निर्माण प्राधिकरण र  दिनरात नभनी सहयोग पुर्‍याउने सबैमा हार्दिक बधाई र आभार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भूकम्पका कारण धरहरा ढल्दा हुन पुगेको क्षतिको पुनः उत्थान गर्ने  र दुर्घटनामा परी दिवङ्गत हुने परिवारलाई धरहरा संरक्षणको काममा प्राथमिकताका साथ रोजगारी दिइने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले धरहरा पुनःनिमार्ण नेपालीको भावना र गौरवसँग जोडिएकोले पुनर्निर्माण गर्दा इतिहास झल्किने र आधुनिकता टल्किने गरी बनाउनुपर्ने आफ्नो धारण अनुसार काम बनेकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारका ३ वर्ष  पुनर्निर्माण र विकासका लागि महत्त्वपूर्ण भएको बताउनुहुँदै अब मुलुकलाई दाता राष्ट्रका रुपमा विकास गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोभिड-१९ का कारण विकास निमार्णका कार्यमा केही समस्या भए पनि स्वास्थ्यका मापदण्ड पालना गर्दै पुनःनिमार्णको कामलाई नरोकिने बताउनुभयो  ।

प्रधानमन्त्री ओलीले नेपाललाई आकर्षक देशको रुपमा विकास गर्दै कोही पनि भोकै बस्न नपर्ने अवस्था सिर्जना गरिने बताउनुभयो । प्रधानमन्त्री ओलीले यो वर्षदेखि सडक मानव नदेखिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा पर्याप्त स्रोतसाधन रहेको भन्नुहुँदै तेल खानी, फलाम खानी लगायतका खानीहरू उत्खनन गरी परनिर्भरताको अन्त्य गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जनताको अथक प्रयासले लोकतन्त्र प्राप्त भएको बताउनुहुँदै  लोकतन्त्रलाई कमजोर पार्न खोज्ने तत्त्वहरू सफल नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई संस्थागत गर्न सबैले इमानदारिताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त भएको धरहराको  पुनः निमार्ण गर्न २०७२ फागुन ४  गते मेरो धरहरा मै बनाउँछु  अभियान सुरु गर्नुभएका प्रधानमन्त्री ओलीले  २०७५ पुस १२ गते धरहरा पुनःनिमार्णको शिलान्यास समेत गर्नुभएको थियो ।

समारोहमा राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले सबैको साथ र सहयोगले धरहराको पुनःनिमार्ण सफल भएको बताउनुभयो ।

निर्देशक ज्ञवालीले बगैँचा निमार्ण, पार्किङ लगायतको काम अझै बाँकी रहेकाले सर्वसाधारणलाले धरहरा अवलोकन गर्न केही समय पर्खिनु पर्ने बताउनुभयो ।

वि.सं. २०७४ कार्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले धरहरा पुनःनिमार्णको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो ।

३ अर्ब ४८ करोड कुल लागत रहेको पुनः निर्मित धरहराको जमिनमाथिबाट गजुरसहितको धरहराको उचाइ ८३.८५ मिटर रहेको छ । रेडियो नेपाल

Facebook Comments