Tue. Apr 16th, 2024

प्रज्ञा-प्रतिष्ठानद्वारा लेखक/साहित्यकारलाई परिचय-पत्र दिइने

काठमाडौं, २०७८ बैशाक ६ गते सोमबार । नेपाल प्रज्ञ-प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचय-पत्र दिने भएको छ । वाङ्मयका साधक लेखक/साहित्यकारलाई परिचय-पत्र दिनका लागि कार्यविधिसमेत तयार भइसकेको छ ।

प्राज्ञपरिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल रहेको पाँच सदस्यीय कार्यदलले हप्ता दिन पनि नबित्दै लेखक/साहित्यकार परिचय-पत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि-२०७७ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन कुलपतिसमक्ष बुझाएको छ । संशोधनसहित कार्यविधि तयार पार्नका लागि कार्यदललाई १५ दिनको समयसीमा दिएको थियो । कार्यदलले लेखक/साहित्यकार एवम् विज्ञहरूसँग विभिन्न चरणमा छलफल र परामर्श गरी कार्यविधिको संशोधित मस्यौदा तयार पारी बुझाएको हो ।

कार्यविधिको मस्यौदा बुझ्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले भन्नुभयो-“मुलुकका वाङ्मय साधकहरूलाई परिचय-पत्र दिने पहिलेदेखिकै योजनालाई अब हामी साकार रूप दिँदैछौँ । यही महिनाभित्र राष्ट्रपतिज्यूको बाहुलीबाट परिचय-पत्र वितरण आरम्भ गरिने छ ।” उहाँले छोटो समयमै कार्यविधिको संशोधित मस्यौदा तयारी पारी बुझाएकोमा कार्यदललाई धन्यवादसमेत दिनुभयो ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायका अनुसार ‘लेखक/साहित्यकार परिचय-पत्र’ नामाकरण गरिएको परिचय-पत्रमा लेखक/साहित्यकारको नाम/उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ । उहाँले भन्नुभयो-“कुनै पनि स्रष्टालाई श्रेणीकरण गरिने छैन । परिचय-पत्र पाउनका निम्ति सम्बन्धित लेखक-साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्ने छ ।”

Facebook Comments