Fri. May 17th, 2024

सुकुम्बासीका समस्या प्राथमिकतामा राख्न निर्देशन

काठमाडौं, २०७८ बैशाक ६ गते सोमबार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले भूमिहीन सुकुम्बासीले छिटो पुर्जा पाउने गरी कार्ययोजना बनाएर अगाडि बढ्न भूमिसम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यकाल एक वर्ष पूरा भएको अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र पुराना आयोगका अधुरा काम सम्पन्न गर्ने जिम्मेवारी आयोगको रहेको उल्लेख गर्दै भूमिहीन सुकुम्बासीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभयो । उहाँले सुकुम्बासीको समस्या सबैको साझा भएकाले स्थानीय तहमा पनि कुनै आग्रह पूर्वाग्रह नराखेर पूर्ण रूपमा समस्या समाधान गर्ने गरी काम गर्न सुझाव दिनुभयो ।

संविधान र ऐनमा नै व्यवस्था भएर आयोग गठन भएको हुँदा सरकार परिवर्तन भए पनि आयोगका काममा कुनै बाधा नपुग्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले उक्त अवसरमा आयोगले एक वर्षसम्म गरेका काम समेटेर तयार पारेको वार्षिक प्रतिवेदन, २०७७ समेत सार्वजनिक गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको स्पष्ट गर्नुभयो । उहाँले सम्पूर्ण समस्याको समाधान हुने गरी काम गर्न आयोगलाई सुझाव दिनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments