Fri. Apr 19th, 2024

सर्वदलीय बैठक सम्पन्न, प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह

काठमाडौं, २०७८ बैशाक ४ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन, सांसद खाली भएको ठाउँमा उपनिर्वाचन गर्ने विषयमा समेत छलफल भएको छ । बैठकबारे जानकारी दिनुहुँदै नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले रिक्त रहेको ठाउँमा संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन गर्ने सहमति दलका नेताहरुले दिनुभएको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको परामर्शअनुसार उपनिर्वाचनको कार्यतालिका बनाउने बताउनुभएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले आगामी मंसिरसम्म उपनिर्वाचन गर्ने तयारी थालेको बुझिएको छ । एमसीसी प्रस्ताव संसद बैठमा प्रस्तुत गर्नुपर्ने, सरकारले ल्याउने विजनेस रोक्न नमिल्ने भनाई दलका नेताहरुको रहेको उहाँले जानकारी दिनुभयो । दलहरुबीचमा विभिन्न समयमा मुलुकको साझा समस्याबारे परामर्श गरी अघि बढ्ने कुरा पनि भएको परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले बताउनुभयो । मुलुकको राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रबृत्ति देखिएकाले त्यसप्रति सजग हुँदै निरुत्साहित गर्नुपर्छ भन्ने धारणा प्रधानमन्त्रीले राख्नुभएको जानकारी नेता ज्ञवालीले बताउनुभयो ।

पत्रकारको अर्को जिज्ञासामा प्रवक्ता ज्ञवालीले संसदीय प्रणालीमा सांसदले दलीय फ्लोर क्रस गर्नु अक्षम्य विषय भएको बताउनुभयो । संसदभित्रको एजेण्डामाथि सरकारले हस्तक्षेप गर्न नमिल्ने बताउनुहुँदै प्रवक्ता ज्ञवालीले संसदमा प्रस्तुत प्रस्तावमा कसैले खेलवाड गर्न नहुने बताउनुभयो । लामो समयसम्म संसद बैठकमा प्रस्ताव रोकेर राख्न उचित नरहेको उहाँले बताउनुभयो । सरकारले दिएको विजनेस संसद बैठकमा नियमले राक्न नमिल्ने तर पास गर्ने कि नगर्ने भन्ने बारे संसद सार्वभौम रहेको उहाँले बताउनुभयो । जसपाले नागरिकताको विषय बैठकमा उठाएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

नागरिकता विधेयक पनि संसदमा बैठकमै रहेकाले छलफल गरेर अघि बढाउनुपर्ने पक्षमा सरकार रहेको उहाँले बताउनुभयो । “जस्ताकोतस्तै पारित नहुनसक्छ तर सरकारले पेश गरेका विधेयक बैठकमा रोकेर राख्न मिल्दैन” उहाँले भन्नुभयो । बैठकमा सहभागी नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सांसदहरु हटेपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गर्ने बारेमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा एमसीसी प्रस्ताव संसद बैठकमा पेश गर्नेबारे पनि कुरा भएको उहाँले बताउनुभयो ।

कोभिड १९ उपचारका लागि आइसोलेशन बेड संख्या बढाउनुपर्ने, रोकथामको विधिमा सरकारले ध्यान दिनुपर्ने, जनतालाई त्यसबारे सचेत बनाउनुपर्ने, अहिले नै लकडाउन गरिहाल्ने ठीक हुँदैन भन्ने सुझाव आफूहरुले दिएको उहाँले बताउनुभयो । “उपसभामुख र उपनिर्वाचन दुवै गरौं भन्ने हाम्रो सुझाव रह्यो ।” संसदलाई अपाङ्गता बनाउने काम नगरी छिटो पूर्ण बनाउनुपर्ने सुझाव आफुहरुले दिएको नेता पौडेलले जानकारी दिनुभयो । “सत्तालाई भन्दा व्यवस्थालाई बचाउनुपर्छ भन्ने हामी अर्को सुझाव दियौं” नेता पौडेलले भन्नुभयो । लोकतान्त्रिक गणतन्त्ररुपी व्यवस्थामाथि खेलवाड गर्न नहुने उहाँले बताउनुभयो ।

देशलाई निकास दिनुपर्छ, अहिलेको गतिरोध अन्त्य गर्नुपर्छ भन्यौं नेता पौडेलले बताउनुभयो । “एमसीसी हाम्रै सरकारको पालामा सम्झौता भएको हो, संसद बैठकमा प्रस्ताव ल्याउनुस् भनेर सल्लाह दिएका छौं” नेता पौडेलले भन्नुभयो । कार्यव्यवस्था समितिको बैठक बोलाएर छलफल गरौं, सरकारले संसदमै फेस गर्नुपर्छ भनेर हामीले भन्यौं नेता पौडेलले सञ्चारकर्मीलाई बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments