Fri. Apr 26th, 2024

बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार यसरी हुँदैछ

काठमाडौं, २०७८ बैशाक ४ गते शनिबार । गत साता शुक्रवार ९९ वर्षको उमेरमा निधन हुनुभएका बेलायकी महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार आज १७ तारिख शनिवारका दिन हुन लागेको छ। अन्तिम संस्कारका लागि यत्तिवेला आवश्यक तयारीहरू भइरहेका छन्।

प्राप्त जानकारी अनुसार फिलिपको अन्तिम संस्कारको औपचारिक शाही समारोह दिन शनिवार ब्रिटिश समयानुसार दिउँसो ३ बजे (नेपाली समयानुसार साँझ ७:४५ बजे) विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुनेछ। राजकुमार फिलिपको शव यतिखेर विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ।

राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्नेगरी समेत नराख्न अनुरोध गरेको बताइएको छ। अन्तिम संस्कार समारोह टेलिभिजनमार्फत् देखाइनेछ।

कोरोनाभाइरससम्बन्धी प्रतिबन्धहरूका कारण इङ्ग्ल्यान्डमा सामाजिक दूरी कायम गर्दै ३० जना मानिस मात्र एक ठाउँमा भेला हुन पाउँछन्। आमन्त्रितको सूचीमा महारानी र ड्यूक अफ एडिन्बराका परिवारका सदस्यहरूसहित उहाँका तीन जर्मन नातेदार छन्।

उहाँका नाति ड्यूक अफ ससिक्स राजकुमार ह्यारी उक्त समारोहमा सहभागी हुनुहुनेछ । उहाँकी गर्भवती पत्नी मेगन भने चिकित्सकहरूको सल्लाहमा अमेरिकाबाट आउनु भएको छैन । गत वर्ष राजपरिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो राजकीय जिम्मेवारी परित्याग गरेपछि पहिलो पटक राजकुमार ह्यारी यूके फर्किनु भएको हो ।

सरकारीले जारी गरेको सुझावअनुसार सहभागीहरूले मास्क लगाउनुपर्नेछ। तोकिएको सङ्ख्यामा शवपेटिका बोक्ने मानिसहरू र पादरीहरू समाविष्ट छैनन्।

अन्तिम संस्कार हुने दिन के-के गरिनेछ

औपचारिक रूपमा गरिने ड्यूकको अन्तिम संस्कार राजकीय भने हुनेछैन। राजकीय अन्तिम संस्कार विशेषतः राजगद्दीमा आरूढ व्यक्तिका आयोजित गरिन्छ। तर यसअघि युद्धकालीन समयका प्रधानमन्त्री विन्स्टन चर्चिलको अन्तिम संस्कार पनि राजकीय सम्मानपूर्वक गरिएको थियो।

सन् २००२ मा महारानीकी आमा र सन् १९९७ मा प्रिन्सेस अफ वेल्स डायनाको समेत औपचारिक रूपमा अन्तिम संस्कार गरिएको थियो। शनिवार राजकुमार फिलिपको शवपेटिकालाई निजी च्यापलबाट विन्ड्सर कासलको राजकीय प्रवेशद्वारमा सारिनेछ। सेन्ट जोर्जेज् च्यापलसम्मको छोटो मार्गबाट ड्यूकको शवलाई उहाँ आफैँले परिमार्जनसहित डिजाइन गर्न सघाएको ल्यान्ड रोभर कारमा राखेर लगिनेछ। भिडभाडका लागि कोरोनाभाइरसका प्रतिबन्धका कारण अन्तिम संस्कारमा सहभागी हुने व्यक्तिको सङ्ख्या यसअघिको भन्दा निकै कम गरिएको छ। यद्यपि राजदरबारले त्यसमा ड्यूकको “इच्छा प्रतिविम्बित हुने” तथा उहाँको सार्वजनिक सेवाको जीवनको “उत्सव र झल्को” मिल्ने जनाएको छ।

स्थानीय समयानुसार बीसएटी १४:१५ बजे विन्ड्सर कासलस्थित क्वड्र्‍याङ्गलमा हाउसहोल्ड क्याभल्री र फुट गार्ड्सका सहित राजकुमार फिलिपसँग विशेष सम्बन्ध भएका सैनिक टुकुडीहरू लामबद्ध हुनेछन्।

बीसएटी १४:२० बजेबाट शवयात्रामा सहभागी नहुने राजपरिवार र ड्यूक अफ एडिन्बाराका परिवारका सदस्यहरू विन्ड्सर कासलदेखि कारमा चढेर सेन्ट जोर्जेज् च्यापलका लागि प्रस्थान गर्नेछन्।

बीसएटी १४:४० बजेक्वड्र्‍याङ्गमा रहेका ब्यान्डहरूले धुन बजाउन बन्द गर्नेछन् र शवपेटिकालाई बोकेर ल्यान्ड रोभरमा राखिनेछ। शवयात्रामा राजपरिवारका सदस्यहरू शवपेटिका पछिपछि आआफ्नो स्थानमा रहेर उक्त समारोहमा सहभागी हुनेछन्।

बीसएटी १४:४५ बजे शवयात्रा सुरु हुनेछ। ग्रेनडीर गार्ड्सको टोलीको नेतृत्वमा शवयात्रा क्वड्र्‍याङ्गलबाट होर्सशू क्लोइस्टरतर्फ अघि बढ्नेछ। उक्त टोलीको पछाडि मेजर जेनरलको समूह र सेनाका चीफ अफ स्टाफहरू हुनेछन्। त्यसपछाडि ल्यान्ड रोभर र त्यसको दुवैतर्फ रोयल मरीन र राजकुमारसँग सम्बन्धित अन्य रेजिमेन्टका सैनिकहरू हुनेछन्।

शवपेटिकाको पछिपछि प्रिन्स अफ वेल्ससहित राजपरिवारका सदस्यहरू हिँड्नुहुनेछ। आफ्नो विशेष कार स्टेट बेन्टलीमा सवार महारानी शवयात्राको पछिल्तिर हुनुहुनेछ र उहाँ ग्यालिलीतर्फको प्रवेशद्वारबाट सेन्ट जोर्जेह। च्यापलमा प्रवेश गर्नुहुनेछ ।

शवयात्रा अघि बढ्ने मार्गमा रोयल नेभी, रोयल मरीन, द हाइल्यान्डर्स, स्कटल्यान्डको चौथो रोयल रेजिमेन्टको गण र रोयल एअर फोर्सका सदस्यहरू पङ्क्तिबद्ध हुनेछन्। द किङ्स रोयल होर्स आर्टिलरीले इस्ट लनबाट निरन्तर बन्दुकको सलामी अपर्ण गर्नेछ।

बीसएटी १४:५३ बजे उक्त ल्यान्ड रोभर सेन्ट जोर्जेज् च्यापलको वेस्ट स्टेप्समा आएर रोकिनेछ र त्यहाँ राइफल्स रेजिमेन्टले सम्मान गारथ सहित सलामी र राष्ट्रीय गान प्रस्तुत गर्नेछ।

हाउसहोल्ड क्याभलरीका सदस्यहरू वेस्ट स्टेप्समा लामबद्ध हुनेछन् र शवपेटिकालाई च्यापलतर्फ बोकेर लैजाँदै गर्दा रोयल नेभीको एउटा ब्यान्डले विशेष धुन बजाउनेछ।

ड्यूकको मर्यादाअनुसार ढाकिएको उक्त शवपेटिका माथि माल्यार्पणका लागि पुष्पगुच्छाड्यूकको जलसेनामा कार्यरत हुँदा उहाँको टोपी र खड्ग हुनेछन्। विन्ड्सरका डीन र आर्चबिशप अफ क्यान्टबरी पनि त्यहाँ सहभागी हुनेछन्। राजपरिवारका सदस्यहरू मात्रै च्यापलमा प्रवेश गर्नेछन् र शवयात्रामा सहभागी अरू व्यक्ति बाहिरै बस्नेछन्।

बीसएटी १५:०० बजे ड्यूकको सम्मानमा देशभरि एक मिनेट मौनधारण गरिनेछ। मौनधारण अवधिको आरम्भ र अन्त्यको सङ्केत द किङ्स ट्रूप रोयल होर्स आर्टिलरीले तोप पड्काएर दिनेछ।

च्यापलभित्र अन्तिम संस्कारको समारोह सुरु हुनेछ र शवपेटिकालाई क्वाईरमा रहेको क्याटाफ्लेक भनिने संरचनामा राखिनेछ। उक्त समारोहपछि ड्यूकलाई रोयल भल्टमा समाधिस्थ गरिनेछ।

अन्तिम संस्कारपछि के हुन्छ

अन्तिम संस्कारको दिन राष्ट्रिय शोकको अवधि समाप्त हुन्छ। राजपरिवारले दुई साता शोक मनाउनेछ। तर परिवारका सदस्यहरू उपयुक्तता हेरेर शोकको सङ्केत गर्न कालो रङ्गको पट्टी लगाएरै कार्यक्रमहरूमा सहभागी हुनेछन्। बिबिसी

Facebook Comments