Sun. Dec 22nd, 2024

कोरोनाको कारण पर्यटकीय गाउँ ओलाङचुङगोला विस्थापित हुने अवस्थामा

काठमाडौं, २०७८ बैशाक ३ गते शुक्रबार । कञ्चनजङ्घाको फेदीमा रहेको हिमाली पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दाहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । कोरोना कहरका कारण नेपाल र चीन जोड्ने नाका ओलाङचुङगोलाको तिप्ताला भञ्ज्याङ सील(बन्द) गरेपछि आम्दानीको श्रोत सकिएको छ ।  आम्दानीको स्राेत सकिएपछि गाउँ विस्थापित हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।

स्थानीय स्तरमा उत्पादित गलैँचा, घ्यू, छुर्पी लगायतका सामग्रीहरुले नेपाली बजारमा खासै भाउ नपाउने र व्यापार पनि निकै कम हुनेगरेको स्थानीयको गुनासो छ ।

‘चीन ठूलो बजार भएकाले ती सामग्रीहरुको भाउ तिब्बतको रिउमा बढी हुन्छ’, स्थानीय छेतेन शेर्पाले भन्नुभयो, ‘अहिले करिब डेढ वर्षदेखिको बन्दका कारण व्यापार हुन सकेको छैन ।’

यसरी आम्दानीको स्राेत नभएपछि दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु खरिदको लागि  समेत समस्या भएको स्थानीयको भनाइ छ । स्थानीयले चौरी तथा चौंरीका बाछाहरुको तिब्बतमा व्यापार गरेर आम्दानी गर्ने गरेका थिए । तर नाका ठप्प भएपछि त्यो आम्दानी पनि रोकिएको हो । ​

कञ्चनजंघा संरक्षण क्षेत्रभित्र विभिन्न जडिबुटी संकलन गरिँदै आएको छ । नियम अनुसार कुड्की, सत्वा, सेतोचीनी, चिराइतो लगायतका जडीबुटी संकलन हुन नसकेको कञ्चजंघा संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष खगेन्द्र फेम्बो (लिम्बू) ले बताउनुभयो । यस्तै सामुदायिक बनमार्फत संकलन हुने जडीबुटी कोरोनाका कारण २ वर्षदेखि संकलन हुन सकेका छैनन् । यसले पनि आम्दानीको बाटो रोकेको अध्यक्ष फेम्बोको भनाइ छ ।

पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दाहरु ४ सय बर्षदेखि बसोबास गर्दै आएको इतिहास छ । ६४ घर रहेको सो  बस्ती जिल्ला सदरमुकामदेखि ३ दिनको पैदल हिँडेर पुग्न सकिन्छ । यस्तै ताप्लेजुङको सबै भन्दा उच्च अर्थात् हिमाली बस्ती याङमाका बासिन्दालाई पनि ठूलो संकट परेको छ । यहाँका बासिन्दालाई पनि अहिले कोरोना कहरका कारण चीनसँगको सिमाना बन्द भएसँगै समस्या परेको हो । ४ हजार १ सय मिटर उचाइमा रहेको यस बस्तीमा १० घरहरु रहेका छन् । कोरोनाका कारण चीनसँगका नाका बन्द भएपछि न आम्दानीको श्रोत छ, न त व्यवसाय गर्न सकेका छन् ।

यस क्षेत्रमा पनि विशेष गरेर चौंरीपालन नै मुख्य व्यवसाय रहेको छ । उत्पादित छुर्पी, घ्यू तथा जडीबुटीको व्यापार अहिले रोकिँदा समस्या भएको छेतेन शेर्पाले बताउनुभयो । व्यापारमा तिब्बतसँग आत्मनिर्भर यस क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकामसम्म आइपुग्न ४ दिन लाग्छ भने चीन जान डेढ दिन । उज्यालो अनलाईन

Facebook Comments