Mon. May 20th, 2024

दिल्लीमा आजदेखि कर्फ्यू

काठमाडौं, २०७८ बैशाक ३ गते शुक्रबार ।  कोरोना सङ्क्रमण बढेपछि भारतको नयाँ दिल्लीमाआज शुक्रबारदेखि कर्फ्यू लगाईदैछ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विकेन्ड कर्फ्यू लगाउने घोषणा गर्नुभएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । दिल्लीमा पाँच हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या २५ गुणाले बढेपछि मुख्यमन्त्री केजरीवालले यो निर्णय लगाउनुभएको हो ।

नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोज्ने अनुमति दिइएको छ ।

बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए भने १०४ जनाको मृत्यु भएको छ । त्यस्तै यहि अवधिमा ९ हजार ९५२ जना निको भएका छन् ।
अहिलेसम्म दिल्लीमा ७ लाख ६७ हजार सङ्क्रमित बनेका छन् । यसमध्ये ७ लाख ५ हजार निको भएका छन् भने ११ हजार ५४० जनाको मृत्यु भएको छ । गोरखापत्र

Facebook Comments