Tue. Apr 30th, 2024

पदमुक्त गराईएका चारै जना मन्त्री पुन: नियुक्त, ५ बजे शपथ ग्रहण

- भाग्यमानीको भूतै कमारो भने जस्तै नेपालको दलगत राजनीति

काठमाडौं, २०७७ चैत २७ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरिनुभएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको छ । माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

पुनः मन्त्री पदमा नियुक्त हुनुभएका उहाँहरुको शपथ कार्यक्रम आजै बेलुकी ५ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आजै साँझ नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउने बताउनुभयो । एमाले केन्द्रीय सदस्यमा मनोनीत हुनुभएका उहाँहरुलाई माओवादी केन्द्रले दलबाट निष्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निष्कासन गरेपछि सांसदबाट पदमुक्त हुने व्यवस्था छ ।

माओवादी केन्द्रकाले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो ।

बिहीबार सांसदबाट पदमुक्त हुनुभएका उहाँहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

Facebook Comments