Fri. May 3rd, 2024

बाघको आक्रमणबाट गैंडा गणनामा संलग्न माउत्तेको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं, २०७७ चैत २२ गते आईतबार आइतवार साँझ बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत हात्तीसारमा कार्यरत माउतेको मृत्यु भएको छ । विगत पाँच दिनदेखि गैँडा गणना टोलीमा सहभागी हात्तीका माउत्ते पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

विगत चार वर्षदेखि निकुञ्जको हात्तीसारमा कार्यरत ३१ वर्षीय माउत्ते चौधरीलाई साँझ ५:३० बजेतिर बाघले आक्रमण गरेको थियो । प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार निकुञ्जभित्रको गैँडा मचान क्षेत्रमा गणना गरेर टोली बिश्राम गर्ने अवस्थामा रहेका बेला एक्कासि देखिएको बाघले गैँडा गणनामा प्रयोग गरिएको हात्ती र माउते चौधरीमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेका चौधरीलाई केही मिटर परसम्म बाघले लछारेर लगेको थियो ।

बाघले आक्रमण गरेर लछारेर लगेका चौधरीको तत्कालै उद्धार गरिएको भए पनि उहाँको तत्काल मृत्यु भइसकेको जानकारी श्रेष्ठले दिनुभयो । यस अघि शुक्रवार चितवनमा पनि बाघ गणना गर्ने क्रममा जंगलभित्रै ध्रुबे हात्तीको आक्रमणमा परी राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत बिनोद श्रेष्ठ गम्भीर घाइते हुनु भएको छ भने उहाँको हयाम्स अस्पतालमा उपचार भइरहेको छ । बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्जमा यस अघि १० जनाको मृत्यु भइसकेको छ । गोरखापत्र

Facebook Comments