Fri. May 3rd, 2024

चिनियाँ खोप काठमाडौंमा २५ गतेदेखि लगाइने

- कोरोना भाइरस विशेष

काठमाडौं, २०७७ चैत २२ गते आईतबार सरकारले चैत २५ गतेदेखि काठमाडौंका तोकिएका अस्पतालहरूबाट चिनियाँ खोप लगाउने प्रबन्ध मिलाइएको बताएको छ। नेपालले हालै चीनले अनुदानमा दिएको ८ लाख मात्राको सिनोफार्म खोप चीनको राजधानी पैचिंगबाट ल्याएको थियो। औषधि व्यवस्था विभागले सो खोपलाई फागुन ४ गते आपत्कालीन प्रयोगको अनुमति दिएको थियो।

“चीनबाट प्राप्त भेरोसेल खोप काठमाडौंका तोकिएका अस्पतालहरूबाट दिने प्रबन्ध मिलाइएको छ। अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थीहरू, हिमालयपार व्यापारमा संलग्नहरू तथा चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्तिहरूले ती खोप लगाउन सक्नेछन्,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको छ । सो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनु पर्छ।

अत्यावश्यक सेवामा संलग्नहरूमा को को पर्छन् त?

“नेपाल सरकारले तोकेको अत्यावश्यक सेवाहरू जस्तो स्वास्थ्य सेवा, खानेपानी, दुग्धपदार्थ वितरण, हवाई यातायातका सेवामा सामेल अनि औषधि व्यवसायमा संलग्नहरू पर्छन्,” स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख झलक गौतमले बताउनु भयो ।

केही साता अगाडि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा चीन सरकारले चीनले विकास गरेको कोभिड खोप लगाएका विदेशीहरूलाई चीन आवतजावत सहज गराउन लागेको विवरण आएका थिए।

त्यसैको पृष्ठभूमिमा चीनमा अध्ययनरत विद्यार्थी तथा चीनसँग व्यापारमा संलग्न व्यापारीहरूलाई चिनियाँ खोपमा प्राथमिकता दिन लागिएको ठानिएको छ। बिबिसी

Facebook Comments