Sat. Nov 23rd, 2024

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सेयर निष्कासन गर्ने

काठमाडौं, २०७७ चैत १९ गते बिहीबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मेलम्चीको पानी काठमाडौं आइसकेपछि लिमिटेडको आर्थिक अवस्थामा सुधार हुने प्रक्षेपणसहित सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना बनेको हो ।

कम्पनीप्रति सबैको अनपत्व बढाउन र केयूकेएललाई अझ व्यवस्थित गरी नाफामा लैजानका लागि साधारण सेयर जारी गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य शाक्यले जानकारी दिनुुभयो । लगातार तीन वर्ष नाफामा देखिए अर्को आर्थिक वर्षमा सेयर जारी गर्न पाइने व्यवस्थाअनुसार तयारी भएको उहाँको भनाइ छ ।

हाल केयूकेएलले दैनिक करिब आठ करोड लिटर पानी वितरण गर्दै आएको छ । दैनिक १७ करोड लिटर मेलम्चीको पानी थप भएपछि अहिले केयूकेएलले दैनिक २५ करोड लिटर पानी वितरण सुरु गरेको छ । मेलम्चीको दोस्रो आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाको १७/१७ करोड लिटर पानी थप भएपछि केयूकेएलले दैनिक ५१ करोड लिटर पानी वितरण गर्नेछ । जसको कारोबार हालको भन्दा करिब सात गुणा बढी हुनेछ ।

मेलम्ची आइसकेपछि केयूकेएलप्रति आमउपभोक्ताको धारणामा सकारात्मक परिवर्तन हुने अनुमान केयूकेएलको छ । पानी पर्याप्त भइसकेपछि समय तालिकाअनुसार वितरण नियमित र प्रभावकारी हुनेछ । जसले गर्दा कम्पनीको नाफा बढ्न गई आकर्षण पनि बढ्ने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत र शाक्यको दाबी छ ।

केयूकेएलमा काठमाडौँ महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौँ उपत्यकाभित्रका १६ वटा नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको छ । “केयूकेएल सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित भएकाले कम्पनीको प्रबन्धपत्रअनुसार सर्वसाधारणका लागि सेयर जारी गर्छौं,” शाक्यले भन्नुभयो ।

एक अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ प्रतिशत सेयर छ । त्यस्तै नेपाल चेम्बर अफ कमर्सलगायत चारवटा निजी क्षेत्रका संस्थाको १२ प्रतिशत सेयर छ । कर्मचारी ट्रस्टका लागि ४ प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर छ । बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने व्यवस्था छ ।

केयूकेएलले १० हजार लिटर पानीको एक सय रुपियाँ महसुल लिने गरेको छ । १० हजार लिटरपछि प्रत्येक हजार लिटरको ३२ रुपियाँ थप हुँदै जाने व्यवस्था छ । सेवा प्रभावकारी बनाएपछि शुुल्क बढाउने केयूकेएलको योजना छ । हाल केयूकेएलले वर्षमा ९५ करोड बराबरको पानी वितरण गर्दछ । गोरखापत्र

Facebook Comments