Fri. May 3rd, 2024

म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव चीनद्वारा अस्वीकार

काठमाडौं, २०७७ चैत १९ गते बिहीबार  म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रयासलाई चीनले अस्विकार गरेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌को एउटा आपत्‌कालीन बैठकमा म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई चीनले अस्वीकार गरेको हो । सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव बढाउने काम मात्र गर्ने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गर्नुभयो।

यसअघि म्यान्मारका लागि राष्ट्रसङ्घकी विशेष दूतले आवश्यक कदम चाल्न सुरक्षा परिषद्‌लाई आग्रह गर्नुभएको थियो । कूविरुद्ध जारी प्रदर्शनमाथि सेनाले गरिरहेको दमनबीच उहाँले म्यान्मारमा रक्तपात तथा सम्भावित गृहयुद्धको खतरा औँल्याउनु भएको थियो । अधिकारकर्मीहरूका अनुसार सैन्य कू गरिएको दुई महिनाभित्र पाँच सयभन्दा बढी प्रदर्शनकारी सुरक्षाकर्मीबाट मारिएका छन्। गत शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी सुरक्षाकर्मीबाट मारिएपछि ब्रिटेनको आग्रहमा सुरक्षा परिषद्‌को आपत्‌कालीन बैठक डाकिएको थियो।

शनिवारको घटनालाई लिएर विश्वभरिबाट म्यान्मारको सेनाको चर्को आलोचना भएको थियो। यूकेसहित एक दर्जन देशका रक्षा प्रमुखहरूले एउटा विरल संयुक्त वक्तव्य जारी गर्दै सेनाको हिंसात्मक कदमको निन्दा गरेका थिए। वक्तव्यमा भनिएको थियो, “व्यावसायिक सेनाले संहितासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्छ र आफूले सेवा गर्ने जनतालाई क्षति पुर्‍याउन नभई सुरक्षा दिन जिम्मेवार हुन्छ।”

शनिवार सुरक्षा फौजहरूले म्यान्मारका ४० भन्दा बढी स्थानमा गोली चलाएका थिए। बिबिसी

Facebook Comments