Tue. May 7th, 2024

‘संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलकाे अलमलका कारण संसद् बैठक प्रभावकारी भएन’

काठमाडौं, २०७७ चैत १८ गते बुधबार  परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रतिपक्षीलगायत संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलहरूको अलमलका कारण संसद् बैठक प्रभावकारी नभएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री ज्ञवालीले सरकारको कारण संसद् प्रभावकारी नभएको नभइ प्रतिपक्षी दललगायत संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलहरूको अलमलका कारण संसद् बैठक प्रभावकारी नभएको बताउनुभएको हो ।

सरकार संसद्लाई बिजनेस दिन तयार रहेको मन्त्री ज्ञवालीकाे भनाइ छ । संसद्लाई सही ढङ्गले अगाडि लैजानका लागि सभामुखको नेतृत्वदायी भूमिका हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विधेयकहरू पहिलो बैठकमा प्रस्तुत गर्न नपाएपछि संविधानअनुसार पनि फेरि प्रस्तुत गर्न केही कठिनाइ परे । सरकार बिजनेस दिन तयार छ । सरकारका कारणले संसद् प्रभावकारी नभएको, संसद् बैठक प्रभावकारी नभएको होइन । प्रतिपक्षी दललगायत संसद् पुनर्स्थापनाको पक्षमा लाग्नुभएकाहरू आफैँ अलमलिनुभएकाे छ संसद् प्रभावकारी नहुनका लागि । सदनलाई सही ढङ्गले अगाडि लैजाने कुरामा नेतृत्वदायी भूमिका हुनपर्‍याे सभामुखको । सबै राजनीतिक दलसँग समझदारी हुनुपर्‍याे । सरकारसँग समन्वय गर्नुपर्‍याे । भोलि सरकारले प्रस्तुत गरेका अध्यादेशहरू, अरू बिजनेसहरू अवरोध हुँदैन भन्ने ग्यारेन्टी के ?’

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन छाड्ने बताउनुभयो । विपक्षी दलले विकल्प दिए पनि आफूहरू सरकारमा बसिनरहने उहाँको भनाइ छ । हतारमा समर्थन छाडेर राजनीतिक अस्थिरतातर्फ आफूहरूले लान नचाहेको नेता पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी राजनीतिक स्थायित्व चाहन्छौँ । ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौँ । हामी अस्थिरता चाहँदैनौँ, स्थिर चाहन्छाैँ । तपाईँ सरकारलाई बहुमत जुटाउनुस् । अरू विपक्षी दलले बहुमत जुटायो भने हामी त्यस दिन छोड्छौँ । हतारमा हामी छोडेर विकल्प पनि दिन नसक्ने भइराखेको, सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा हामी लिन चाहँदैनौँ ।’ उज्यालो अनलाईन

प्रतिनिधिसभा आजको बैठक सम्पन्न, अर्को बैठक २३ गते सोमबार बस्ने

प्रतिनिधिसभाको बुधबारको बैठक सम्पन्न भएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले नेपाली काँग्रेसका दुई सांसदप्रति शोक प्रस्ताव पारित गर्दै अर्को बैठक २३ गते सोमबार बस्नेगरी बैठक सम्पन्न भएको हो । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ ।

सरकारको तर्फबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सो प्रतिवेदन बुधबार बसेको संसद बैठकमा प्रस्तुत गर्नुभयो । त्यस्तै, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्नुभयो ।

त्यस्तै सभापति खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ बैठकमा पेश गर्नुभयो । शोक प्रस्ताव पारित बैठकले नेपाली काँग्रेसका सांसद नविन्दराज जोशी र लक्ष्मीदेवी भण्डारीप्रतिको शोक प्रस्ताव पारित गरेको छ । बैठकले सांसदप्रति मौनधारण गर्दै प्रस्ताव पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक २३ गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख अग्नlप्रसाद सापकोटाले जानकारी गराउनुभयो । सांसद जोशीको चैत १३ गते उपचारको क्रममा ५९ वर्षको उमेरमा निधन भएको थियो भने भण्डारीको चैत १६ गते ६८ वर्षको उमेरमा निधन भएको थियो ।

Facebook Comments