Fri. May 10th, 2024

अब प्रदेशमा पनि निर्वाचन कार्यालय

काठमाडौं, २०७७ चैत १८ गते बुधबार अब प्रदेशमा पनि निर्वाचन कार्यालय रहने भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वचन आयुक्त दिनेशकुमार थपलियाले आज भर्चुअल माध्यमबाट प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को गएको माघ २६ गतेको निर्णयानुसार निर्वाचन आयोगअन्तर्गत सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी संगठन संरचना स्वीकृत भएको थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ मा आयोग आफैँले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यकताअनुसार प्रदेश तथा तोकिएबमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्थाबमोजिम हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साबिकका जिल्ला निर्वाचन कार्यालय खारेज गरी नेपाल प्रशासन सेवा, राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवको नेतृत्वमा नौजना कर्मचारीहरु रहने गरी प्रदेश कार्यालयको स्थापना गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा थपलियाले निर्वाचन आयोगलाई संविधानबमोजिम संघीय ढाँचाअनुकूल तुल्याउन र आयोगका काम-कारबाहीलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरमा कार्यालय स्थापना गरिएको बताउनुभयो ।

साथै, थपलियाले प्रदेश निर्वाचन कार्यालयबाट निर्वाचन व्यवस्थापन, निर्वाचन शिक्षा एवं मतदाता जागरणलगायत आयोगलाई तोकिएका कार्यसम्पादनमा थप सहजता हुने र जिल्ला निर्वाचन कार्यालयहरुको काम-कारबाहीमा प्रभावकारी समन्वय हुने विश्वास पनि व्यक्त गर्नुभयो । रासस

Facebook Comments