Thu. May 2nd, 2024

चीनबाट विश्वका ८० वटा मुलुकलाई खोप सहयोग प्रदान

काठमाडौं, २०७७ चैत १८ गते बुधबार  चीनले विश्वका ८० वटा देशहरुलाई कोरोना भाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ । मार्च ३० तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयीङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुहुँदै सो जानकारी दिनु भएको हो। प्राप्त जानकारी अनुसार, विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेएसुसले २९ तारिख भन्नु भएको थियो, ‘धनी मुलुकहरूले लिने कोभिड विरूद्ध खोपको संख्या र गरिब मुलुकहरूले कोभ्याक्स प्रणालीबाट पाएको खोपको संख्याको अन्तर दिनप्रतिदिन ठूलो बनिरहेको छ र हालसम्म ३६ वटा मुलुकले एउटै खोप पाएका छैनन्।’ ‘खोपको अन्यायपूर्ण वितरण नैतिकता विपरीत मात्र होइन, अर्थतन्त्रका लागि विनाशकारी हुने पनिउहाँले प्रस्ट पार्नुभयो।

यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वाले भन्नुभएको छ, ‘खोपको वितरण समस्या सबैको ध्यान तान्ने विषय हो। प्राप्त तथ्याङ्क बमोजिम, विश्वको कूल जनसंख्याको १६ प्रतिशत ओगट्ने धनी मुलुकसँग विश्वको ६० प्रतिशत खोप छ र केही धनी विकसित मुलुकले अर्डर गरेको खोपको संख्या कूल जनसंख्याको २ वा ३ गुणा छ भने गरिब विकासोन्मुख मुलुकसँग पश्चिमा मुलुकबाट उत्पादित खोप पाउने तरिका वा क्षमता छैन।’

खोप नै भाइरस प्रतिरोधी हतियार हो र ज्यान बचाउने आशा पनि भएकोले सम्पूर्ण विश्व तथा मानवजातिको सेवा गर्दै हित कल्याणको सिर्जनामा प्रयोग गर्नुपर्छ। चीनले विश्वको सार्वजनिक उत्पादित वस्तु स्वरूप खोपलाई मानेर विकासोन्मुख मुलुकमा खोप पाउने र किन्नसक्ने लक्ष्यलाई साकार तुल्याउन प्रयास गरिरहेको छ। चीनले कोभ्याक्सको प्रारूपमा विकासोन्मुख मुलुकको आवश्यकताको लागि पहिलो खेपका १ करोड खोप प्रदान गर्ने वचन दिइसकेको छ।

ह्वाले जानकारी दिनु भए अनुसार, हालसम्म चीनले विश्वका ८० वटा मुलुक र ३ वटा अन्तर्राष्ट्रिय संगठनलाई खोप सहयोग प्रदान गरिरहेको छ। साथै ४० वटा मुलुकलाई खोपको निर्यात गरिरहेको छ। यसका अतिरिक्त, लगभग १० वटा मुलुकसँग खोपको अध्ययन तथा उत्पादन गरिरहेको छ। संयुक्त राष्ट्र संघको आह्वानमा चीनले विभिन्न मुलुकका शान्ति सेनालाई पनि खोप प्रदान गरिरहेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँग सहयोग गर्दै खेलाडीहरूको लागि पनि खोप प्रदान गर्न चीन इच्छुक छ। क्षमतायुक्त सबै मुलुकहरूले सकेसम्म आवश्यक पर्ने मुलुकहरू विशेष गरी विकासोन्मुख मुलुकलाई खोप प्रदान गर्दै विभिन्न मुलुकका जनताले खोप लगाउन पाउने र सक्ने प्रयास चीनले गरिरहेको छ। सीआरआई

Facebook Comments