Mon. May 6th, 2024

अझै मौसममा सुधार भएन, ८२ वटा हवाई उडान प्रभावित

काठमाडौं, २०७७ चैत १५ गते आईतबार काठमाडौं उपत्यकामा प्रतिकूल मौसमका कारण शुक्रबारदेखि आन्तरिक र बाह्य हवाईसेवा प्रभावित भएको छ । शुक्रबार र शनिबार आन्तरिक र बाह्य गरी ८२ वटा उडान रद्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार आन्तरिकमा शुक्रबार २४ र शनिबार बेलुका ८ बजेसम्म ५६ उडान रद्द भएको थियो ।

शुक्रबार आन्तरिकमा १ सय १५ उडान तालिका रहेकोमा २४ उडान रद्द भएर ९१ मात्र उडान भएको थियो । जसमा ५ हजार ५ सय १६ यात्रुले काठमाडौंबाट विभिन्न विमानस्थलमा उडान भरेका थिए भने ५ हजार ३ सय ८१ यात्रु काठमाडौं अवतरण गरेका थिए । शुक्रबार आन्तरिकमा कुल १० हजार ८ सय ९७ यात्रुुले उडान भरेका थिए । शनिबार १ सय १४ उडान तालिका रहेकोमा ५६ उडान रद्दको थियो । शनिबार श्री एयरलाइन्सको-१, ताराएयर-४, यति-१५, बुद्ध-२७, सौर्य-१ र नेपाल वायुसेवा निगमको ५ उडान रद्द भएको थियो ।

देशभर विकास भएको प्रतिकूल मौसमका कारण आन्तरिक उडान बढी प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । भिजिबिलिटी कम भएकाले उडान प्रभावित भएको थियो सामान्यतया भीएफ आर (भिजुवल फ्लाइट रुल्स) हुनका लागि भिजिबिलिटी ५ हजार मिटर हुनुपर्छ तर शुक्रबार र शनिबार नै काठमाडौंलगायत मौफसलको भिजिबिलिटी १६ सय मात्र भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

मौफसलका विमानस्थलका एयर फिल लाइट नभएका पोखरा, भरतपुर, सिमरामा उडान हुन सकेको थिएन । शुक्रबार राति ११ बजेसम्म विराटनगर, भद्रपुर, नेपालगन्ज, धनगडी र भैरहवामा उडान भएको थियो भने शनिबार पनि सोही हाराहारीमा उडान हुने विमानस्थल कार्यालयले जनाएको छ । शुक्रबार अन्तर्राष्ट्रियतर्फ भने हङकङबाट उडान भरेको क्याथेप्यासेफिक एयरको कार्गाे विमान काठमाडौंमा अवतरण गर्न नसकेर दिल्लीमा डाइभर्ट भएपछि हङकङ फिर्ता भएको विमानस्थल कार्यालयले जनाएको छ । शनिबार एयर इन्डियाको उडान रद्द गरेको थियो भने अन्य उडान भने आइफआर विधिबाट (इन्स्टुमेन्ट फ्लाइट रुल्स) उडान अवतरण भएका थिए । कारोबार दैनिक

Facebook Comments