Sun. May 19th, 2024

काठमाडौं उपत्यकाको तुवाँलोले फोक्सो र आँखामा गम्भिर असर पार्न सक्छ: विज्ञ

काठमाडौं, २०७७ चैत १५ गते आईतबार काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सावधान हुन आग्रह गरेका छन्। केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा शुक्रवार एकाएक उच्च तहमा पुगेको थियो। शनिवार तुवाँलाको प्रभाव व्यापक देखियो भने आईतबार पनि उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ।

उपत्यकामा यस्तो अवस्था अझै केही दिन रहन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ। चिकित्सकहरूका भनाइमा अहिलेको जस्तो वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा सङ्क्रमण हुनसक्छ। त्यसबाट बच्न विभिन्न उपायहरू अवलम्बन गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

छातीरोग विशेषज्ञ डा. सुबोधसागर ढकालका अनुसार उपत्यकामा अहिले देखिएको प्रदूषणको मात्रा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका हिसाबले हेर्ने हो भने निकै खराब तहको रहेको छ। त्यसले गर्दा विशेषगरी छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढाएको उहाँले बताउनु भयो।

डा. ढकालले भन्नु भयोे, “यो प्रदूषणले स्वस्थ मानिसलाई माथिल्लो श्वासनलीमा हुने सङ्क्रमण हुने जोखिम धेरै हुन्छ। तर श्वासप्रश्वाससम्बन्धी रोगीलाई त यसले निकै गाह्रो पार्न सक्छ।” स्वस्थ व्यक्तिलाई पनि प्रदूषणका कारण हाच्छियुँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने तथा छातीमा सङ्क्रमण हुनसक्ने ढकालले बताउनु भयो। उहाँको भनाइमा वायु प्रदूषण बढेसँगै वायुमण्डलमा भाइरसको मात्रा विस्तार हुने क्रम पनि धेरै हुने भएकाले भाइरल सङ्क्रमणको जोखिम पहिलेभन्दा निकै बढ्छ। “यसले फोक्सोका दीर्घरोगीलाई त निकै गाह्रो बनाउँछ नै, दमलगायतका रोग भएका मानिसहरूले पनि विशेष सतर्कता अपनाउनुपर्छ,” उहाँले भन्नुभयो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका उपप्राध्यापक तथा आँखा रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाका अनुसार अहिलेको वायु प्रदूषणले आँखामा निकै गम्भीर असर पर्न सक्छ। उहाँको भनाइमा आँखामा यस्तो प्रदूषणको अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव पर्ने देखिन्छ। बिबिसी

Facebook Comments