Sun. May 19th, 2024

पत्रकार महासङ्घको अध्यक्षमा एक महिला सहित पाँच जनाको उम्मेदवारी

काठमाडौं, २०७७ चैत १५ गते आईतबार नेपाल पत्रकार महासङ्घको केन्द्रीय पदाधिकारीका लागि नयाँ नेतृत्व चयन गर्ने प्रयोजनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ । महासङ्घको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ताको जानकारी महासङ्घको निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेले दिनुभयो । अध्यक्ष पदमा रामप्रसाद दाहाल, निर्मला शर्मा, दीपक पाठक, गजेन्द्रसिंह बुढाथोकी र विपुल पोखरेलले मनोनयन पत्र दर्ता गराउनुभएको छ । महासङ्घको इतिहासमा पहिलो पटक प्रत्यक्ष मतदानबाट नेतृत्व चयन हुँदै छ । केन्द्र, प्रदेश, जिल्लादेखि प्रतिष्ठानसम्म प्रत्यक्ष मतदान प्रणालीबाट निर्वाचन हुन लागेको हो ।

यसैगरी महासचिवमा राजेश मिश्र, रोशन पुरी र बालकृष्ण बस्नेतले उम्मेदवारी दिनुभएको छ । गोरखापत्र संस्थान केन्द्रीय कार्यालयमा कार्यरत पत्रकारहरू रामप्रसाद दाहाल अध्यक्षमा, केन्द्रीय सदस्य पदमा क्रमशः देवबहादुर कुँवर (खुला), भउचप्रसाद यादव (मधेसी), लक्ष्मण दर्नाल (दलित) समूहबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै एसोसिएटतर्फ सचिव पदमा केशव खनाल र लेखा समिति सदस्यमा मन्जिमा ढकालको उम्मेदवारी परेको छ ।

यही चैत २५ गते मतदान हुने कार्यक्रम छ । सबै पदमा गरी करिब दुई सय जनाको उम्मेदवारी दर्ता भएको छ । सबैभन्दा बढी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ । यस पटकको निर्वाचनमा करिब १३ हजार पत्रकार मतदानमा सहभागी हुँदैछन् । गोरखापत्र

Facebook Comments