Thu. Sep 19th, 2024

मध्य प्रदेशका तीन सहरमा पूर्ण लकडाउन, गुजरात र पन्जाबमा कर्फ्यु

- भारतमा कोरोनाको महामारी बढ्यो

काठमाडौं, २०७७ चैत ८ गते आईतबार  भारतका आठ राज्यमा कारोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ ।

मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ । महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको छ । गुजरात र पन्जाबका केही सहरमा रात्रिकालिन कर्फ्यु लगाइएको छ भने केही ठाउँमा स्कुल कलेज बन्द गरिएको छ । यस्तै, मुम्बई सहरमा कोराना परीक्षण अनिवार्य गरिएको छ ।

परीक्षण गर्न अस्वीकार गर्नेलाई कारबाही गरिने त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो तीन दिनमा एक लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म १ करोड १५ लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । १ लाख ५९ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक करोड ११ लाखभन्दा धेरै निको भएका छन् । एजेन्सी

Facebook Comments