Sun. May 5th, 2024

संविधान र लोकतन्त्र रक्षामा सबैले भूमिका खेलौंः सांसदहरु

काठमाडौं, २०७७ चैत ६ गते शुक्रबार नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले संविधानको रक्षाका लागि आफ्नो दल महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा नेता खाँणले सो कुरा बताउनुभयो । संविधानले स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेकाले सर्वोच्चको फैसला र आदेशको सबैले पालना गर्नुपर्ने उहाँले बताउनुभयो । विघटित प्रतिनिधिसभा पुनस्र्थापनार्थ सर्वोच्चले गरेको फैसलाप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । सर्वोच्चले सरकारको कदमलाई असंवैधानिक ठहर गरेपछि सरकारले त्यसको दायित्वबोध गर्नुपर्ने बताउनुभयो ।

सरकारले कोभिड १९ खोपको विषयमा खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुहुँदै नेता खाँणले सरकारले गरेको प्रतिबद्धता गरेअनुसार समयमै खोप ल्याउन नसकेको टिप्पणी गर्नुभयो । कोभिड १९ अझै पूर्णतः नियन्त्रण नभएकाले खोपको उचित व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
मेलम्चीको पानी उपत्यकाबासीले खान पाउनेगरी सरकारले व्यवस्था गरेकोप्रति धन्यवाद व्यक्त गर्नुहुँदै सांसद खाँणले सो काम तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा शुरु भएकाले नाम लिन कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । सरकारले कागजमा धेरै विकास गरे पनि भौतिकरुपमा आशा गरेजस्तो नभएको बताउनुभयो ।

पर्यटन व्यवसाय अहिले ठप्प रहेको चर्चा गर्नुहुँदै नेता खाँणले पर्यटन, यातायात विकासको क्षेत्रमा आवश्यक काम गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो । किसानलाई आवश्यक राहतको व्यवस्था गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुषालले आफ्नै पार्टी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी गलत काम गरे पनि सर्बोच्चले पुनस्र्थापना गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । सांसद भुषाले संवैधानिक नियुक्तमा पनि पुनर्विचार गर्नुपर्ने चर्चा गर्नुभयो । अहिले देश अग्रगमनको दिशामा रहेको चर्चा गर्नुहुँदै सांसद भुषालले लोकतान्त्रिक गणतन्त्र रक्षाको निम्ति सबै लाग्नुपर्ने बताउनुभयो । तीन करोड जनसंख्या भएको देशमा कोभिड १९ खोप अझै पर्याप्त नभएको उहाँले चर्चा गर्नुभयो । खोपको तत्काल व्यवस्था गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

लोकतन्त्र, संघीयतालाई बलियो बनाउन आवश्यक विधेयक संसदमा ल्याएर अगाडि बढ्न आवश्यक रहेको बताउनुहुँदै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले मुलुकले लोकतान्त्रिक गणतन्त्रमा उपलब्धी भए पनि विधिको शासन अझै चल्न नसकेको बताउनुभयो । सांसद यादवले देश र जनताको हितलाई केन्द्रमा राखेर सबैले काम गर्नुपर्ने चर्चा गर्नुभयो । हामीले भावी पुस्तालाई के दिइरहेका छौं आत्मसमिक्षा गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । मूल्य मान्यता र राजनीतिक नैतिकता ह्रास भइरहेको उहाँले टिप्पणी गर्नुभयो ।

दलीय आरोप प्रत्यारोपभन्दा नेपालको स्वाधिनता, राष्ट्रियताप्रति सबै जिम्मेवार हुनुपर्ने भन्दै सांसद यादवले संविधानलाई अझ पूर्ण बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । एक अर्कालाई सम्मान गर्ने र हातेमालो गर्ने परिपाटीको विकास गरी समस्या समाधान गर्न उहाँले दलका नेताहरुलाई आव्हान गर्नुभयो । सदनलाई पक्ष विपक्षभन्दा पनि सहमतिको थलो बनाउनुपर्ने उहाँले चर्चा गर्नुभयो । सांसद रेशमलाल चौधरीलाई मुक्त गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवालले देश र दलीय सहमति गरी जनताको पक्षमा काम गर्नुपर्ने धारणा राख्नुभयो । ठूला दलले साना दललाई निषेधको काम गर्न नहुने उहाँहरुले बताउनुभयो ।

प्रतिनिधिसभामा आयोगका वार्षिक प्रतिवेदन पेश
प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो ।

कोइरालाको निधनमा शोक प्रस्ताव पारित

प्रतिनिधिसभाले सभामुख अग्नि सापकोटाले पूर्वसांसद एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति राख्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाको यही चैत ४ गते राति उपचारका क्रममा असामयिक निधन भएकामा शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।

सदनले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । कोइराला २०५८ सालमा राष्ट्रियसभा सदस्य, विसं २०६३ को पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिकका रुपमा निर्वाचित सदस्य हुनुहुन्थ्यो । सभाले उहाँको सम्मानमा एक मिनेट मौनधारण गरेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत १० गते मङ्गलबार दिनको १ बजे बस्नेछ । गोरखापत्र

Facebook Comments