Fri. Apr 26th, 2024

सुपारी, केराउ, मरिच, र छोकडा आयात खुला

काठमाडौं, २०७७ चैत ६ गते शुक्रबार सरकारले केराउ, मरिच, छोकडा र सुपारी आयातमा लगाएको प्रतिवन्ध खुला गरेको छ । एक वर्ष अघिदेखि प्रतिवन्ध लगाइएका ती वस्तुको परिमाणात्मक बन्देज कायम राख्दै आयात खुला गरिएको हो । सरकारले गत वर्ष चैत १६ गते चारै वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । ती वस्तुको आयात खुला गर्दा ठूलो रकम ठूलो विदेश जाँदा व्यापार घाटा बढ्न सक्ने भन्दै सरकारले आयातमा रोक लगाएको थियो । अहिले परिमाणात्मक बन्देज कायम राखेर आयात खुला गरेको उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

आयात खुला गरेपछि व्यवसायीले तोकिएको परिमाणभन्दा बढी आयात गर्न पाउँदैनन् । मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशित गरेपछि कति परिमाणसम्म ती वस्तु आयात गर्ने पाउने भन्ने बारेमा जानकारी हुनेछ । ती वस्तुको आयात रोकिएपछि बजारमा मूल्य बढेको थियो । विभिन्न मुलुकबाट आयात गरिएका ती वस्तु पुनः नेपालबाट तस्करी भएर पुनः विदेश जाने गर्छन् । नेपालमा उत्पादन भएको सुपारी विभिन्न मुलुकमा निर्यात हुने गर्छ ।

सुपारी आयात गर्दा व्यवसायीले प्रतिकिलो ५० रुपैयाँ भन्सार महसुल र भ्याट तिर्नुपर्छ । त्यस्तै केराउको आयातमा १५ प्रतिशत भन्सार महसुल छ भने भ्याट छैन । मरिच आयातमा २० प्रतिशत भन्सार महसुल र भ्याट बुझाउनुपर्छ । साथै छोकडाको आयात गर्दा भन्सार महसुल १०, अन्तःशुल्क ५ र भ्याट १३ प्रतिशत लाग्छ ।

सरकारले गत वर्ष चारै वस्तुको आयातमा रोक लगाएपछि बजारमा अभाव र मूल्यवृद्धि चुलिएको छ । व्यवसायीका अनुसार गत वर्ष चैत महिना सुपारीको मूल्य प्रति किलो ३ सय ५० रुपैयाँ रहेकोमा अहिले ७ सय ५० रुपैयाँ पुगेको छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार गत वर्ष चैत महिनामा हरियो केराउको मूल्य प्रतिकिलो ७५ रहेकोमा हाल १ सय ३० पुगिसकेको छ । त्यस्तै सेतो केराउको मूल्य प्रति किलो ५५ बाट १ सय १५ र मरिचको ५ सय ५० बाट ७ सय ५० पुगेको छ । छोकडाको मूल्य एक वर्षमा प्रति किलो १ सयबाट १ सय ६० र कम गुणस्तरको प्रति किलो ४० बाट ८० पुगेको संघले जानकारी दिएको छ । एक वर्षसम्म आयात नभएपछि अभाव भई मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । छिमेकी मुलुक भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो परिमाणमा सुपारी, मरिच, केराउ र छोकडा आयात हुने गर्छ । कारोवार दैनिक

Facebook Comments