Sun. May 19th, 2024

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार संविधानबमोजिम अगाडि बढ्छ : नेम्वाङ

काठमाडौं, २०७७ चैत ७ गते शनिबार एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानको मूल्य र मान्यताबमोजिम अगाडि बढ्ने बताउनु भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदा उपनेता नेम्वाङले सरकार संविधानले स्थापित गरेका मूल्य र मान्यताबमोजिम अगाडि बढ्नका लागि दृढ रहेको बताउनु भएको हो । हालसम्म नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै उनले विश्वासको मत फिर्ता लिएपछि पनि सरकार संविधानबमोजिम नै अगाडि बढ्ने बताउनु भयो ।

‘अहिले सरकार जुन आधारमा उभिएको छ । त्यो आधार अहिले विभाजित भएको छ तर विभाजनपश्चातको जुन दल छ त्यो दलले आफ्नो विश्वासको मत फिर्ता गरिसकेको अवस्था छैन । त्यसैले जबसम्म विश्वासको मत फिर्ता हुँदैन तबसम्म सरकारलाई विश्वास प्राप्त भएको मानिन्छ, र सरकार रहन्छ,’ उहाँले पुन भन्नुभो, ‘जुन दिन विश्वासको मत फिर्ता हुन्छ त्यसपछि सरकार संविधानबमोजिम अगाडि बढ्छ ।’

कांग्रेस सांसद मिनेन्द्र रिजालले केपी ओलीको विकल्पको लागि नेपाली कांग्रेसभित्र एकमत रहेको बताउनु भयो । सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीको भूमिका महत्वपूर्ण हुने भएकाले जसपा कांग्रेस नेतृत्वमा सरकार बनाउन तयार भए कांग्रेस तयार रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘जसपाको निर्णय महत्वपूर्ण छ । उहाँहरु जुन बेला कांग्रेस नेतृत्वको सरकार बनाउन तयार हुनुहुन्छ हामी तयार छौं । अबको परिस्थितिलाई व्यवस्थापन गरेर मुलुकलाई अगाडि लिएर जाने काम नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव छ ।’

जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले जसपाका बन्दीहरु रिहाई, मुद्दा फिर्ता र संविधान संशोधनको माग पूरा गर्नेलाई समर्थन गर्ने बताउनु भयो । उहाँले भन्नुभयो-‘जसले हाम्रो मागलाई सम्बोधन गर्छ । जसले हाम्रो बन्दी रिहाइ गर्छ । मुद्दा फिर्ता गर्छ । संविधान संशोधन गर्छ हामी त्यसलाई समर्थन गर्छौं । त्यो बाहेक हाम्रो कुनै एजेन्डा छैन ।’

माओवादी केन्द्रका सांसद राम कार्कीले जसपाले देशलाई प्रतिगमनतिर लान खोज्ने प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने विश्वास व्यक्त गर्नुभयो । ‘हिजो संविधान संशोधनको प्रस्ताव ल्याउँदा त्यसको विरोध कसले गर्‍यो, त्यसको विपक्षमा को उभियो, यो कुरो यति चाँडै बिर्सिने जसपाका नेताहरुले रु जसपाका नेताहरुले त्यो बिर्सेको बाहाना गर्नुहुन्छ भने दीर्घकालीन राजनीतिमा त्यसको हिसाबकिताब स्वाभाविक रुपमा राम्रो हुँदैन,’उहाँले भन्नुभयो, ‘हामीलाई के विश्वास छ भने जसपा यदि परिवर्तनको पक्षमा छ भने जसपाले प्रतिगमनतिर देशलाई लैजान खोज्ने प्रधानमन्त्रीलाई समर्थन गरेर आफ्नो बाँकी राजनीतिको हत्या आफै गर्ने छैन ।’ कान्तिपुर

Facebook Comments