Fri. Sep 20th, 2024

गरिबका लागि निःशुल्क बिजुली

काठमाडौं, २०७७ चैत ५ गते बिहीबार

विकट जिल्लाको रूपमा चिनिने रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ ले विपन्न परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराएको छ । सरकारले ५ एम्पियरको बिजुली लिएका १० युनिटभन्दा कम बिजुली उपयोग गर्ने विपन्नलाई निःशुल्क घोषणा गरेकोमा निःशुल्क ऊर्जा दिएर डिमाण्ड चार्ज भने लिइरहेको छ । तर, सुनिल स्मृति गाउँपालिका-४ ले वास्तविक रूपमै २० युनिटभन्दा कम बिजुली उपयोग गर्ने विपन्न परिवारलाई निःशुल्क बिजुली दिएको हो ।

स्थानीय सरकारले सडक, पुल तथा भवनजस्ता भौतिक विकासमा सहयोग दिइरहेको बेला सुनिल स्मृति गाउँपालिकाले भने गरिबमुखी कार्यक्रम पनि सञ्चालन गरेर देखाएको छ । विपन्न गरिबलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम गरेपछि यस गाउँपालिकाको वडा नं ४ विपन्नमैत्री वडाको रूपमा चिनिन थालेको छ ।

विपन्न जनतालाई लक्षित गरी वडाले अघि बढाएको निःशुल्क उज्यालो कार्यक्रमअन्तर्गत सो वडाले विपन्न गरिबको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणमा भुक्तानी गर्ने गरेको छ । ८ सय २० घरधुरी रहेको वडामा विद्युत्को पहुँच भएका ७ सय ५९ मध्ये २० युनिटभन्दा कम विद्युत् खपत गर्ने ५ सय २७ घरधुरीका लागि विद्युत् महसुल तिरिदिने कार्यक्रम अघि सारेको वडाध्यक्ष गञ्ज क्षेत्रीले जानकारी दिनुभयो । “वडाबाट निःशुल्क विद्युत् कार्यक्रमअन्तर्गत उनीहरूका लागि यस्तो कार्यक्रम अघि सारेका हौं,” क्षेत्रीले भन्नुभयो, “गत साउनदेखि माघ महिनासम्मको शुल्क १ लाख ३३ हजार ३३१ रुपैयाँ विद्युत् प्राधिकरणलाई भुक्तानी गरिसकेका छौं ।”

उक्त शीर्षकअन्तर्गत वडाले चालू आवका लागि ५ लाख ५० हजार विनियोजन गरेको छ । न्यूनतम महसुल प्रतिघरधुरी मासिक ९० रुपैयाँ हुने गर्दछ । संघीय सरकारले समेत १० युनिटसम्म निःशुल्क गरेको हुँदा वडाले बाँकी युनिटको रकम नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने वडाध्यक्ष क्षेत्रीको भनाइ छ ।

वडा कार्यालयले आफ्नो बिजुलीको बिल तिर्न थालेपछि यहाँका विपन्न परिवार खुसी छन् । “वडाभित्र बसोबास गर्ने ५ सय २७ घर गरिबको विद्युत् महसुल वडाले तिरिदिने कुराले हामी खुसी छौं,” सुनिल स्मृति गाउँपालिका-४ छिर्नेका खम्बबहादुर बुढामगरले भन्नुभयो, “घरको आर्थिक अवस्था कमजोर भएका कारण महसुल भुक्तानी गर्न समस्या परिरहेको थियो अब भने केही सहज हुने आशा जगाएको छ ।” कारोबार अनलाईन

Facebook Comments