Thu. May 2nd, 2024

रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा मुद्दा दायर

काठमाडौं, २०७७ फागुन २५ गते मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की राष्ट्रियसभा सांसद कोमल वलीले अर्का नेता रघुजी पन्तविरुद्ध गाली-बेइज्जतीको कसुरमा मुद्दा दायर गर्नुभएको छ । आज काठमाडौँ जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध सांसद वलीले गाली-बेइजतीको मुद्दा दायर गर्नुभएको हो ।

नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा, दिदी-बहिनीहरूको मान-प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको सांसद वलीले बताउनुभयो ।

‘सम्पूर्ण आमा, दिदी-बहिनीहरूमाथि लैङ्गिक हिंसा, उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । यस्ता शब्दहरू प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन । त्यस कारणले गर्दा मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन, समस्त आमा, दिदी-बहिनीहरूको मान-प्रतिष्ठामा चोट पुगेको हुनाले म मुद्दा दर्ता गर्दै छु ।’ मुद्दा दायर गर्दै उहाँले भन्नुभयो ‘सम्पूर्ण आमा, दिदी-बहिनीहरूमाथि लैङ्गिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरेँ, अदालतले जे निर्णय गर्छ, त्यसलाई मैले आत्मसात् गर्नेछु ।

नेता पन्तले सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गर्नुभएको थियो । सो टिप्पणीको सर्वत्र आलोचना भएको थियो ।

Facebook Comments