Fri. Apr 19th, 2024

बङ्गलादेशबाट २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

काठमाडौं, २०७७ फागुन २५ गते मंगलबार

बङ्गलादेशबाट आउन लागेको रसायनिक मल मंगलबार दिउँसो वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको छ । वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा मंगलबार ३ बजे नेपाल सरकारले बङ्गलादेशसँग जीटुजी (सरकार-सरकार)मार्फत् गरेको सम्झौता अनुरूप पहिलो चरणको रासायनिक मल युरिया आईपुगेको हो ।

कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले सरकारले बङ्गलादेशसँग जीटुजी (सरकार-सरकार) मार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति गरे बमोजिम पहिलो चरणमा २ हजार पाँच सय मेट्रिक टन युरिया मल  मंगलबार दिउँसो वीरगञ्ज आइपुगेको जानकारी दिनुभयो ।

वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा धमाधम रेल-वेबाट भन्सार यार्ड र गोदाममा मल राख्ने काम भइरहेको छ । भोलिदेखि नै कृषि सामग्री केन्द्र लिमिटेडको वीरगञ्जस्थित गोदामहरुमा, वीरगञ्ज बाहिर जानेलाई ट्रकले ओसार्ने काम सुरु गरिने प्रबन्धक केसीले बताउनुभयो । पहिलो चरणमा आउन थालेको २२ हजार पाँच सय मेट्रिक टन युरिया मलमा वीरगञ्जका लागि नौ हजार मेट्रिक टन, विराटनगरका लागि पाँच हजार ६२५ मेट्रिक टन र भैरहवाका लागि पनि सात हजार ८७५ मेट्रिक टन मल रहेको छ ।

धानको सिजनमा युरिया मलको अभाव भएपछि तत्कालका लागि सुरुमा बङ्गलादेशबाट पैँचोमा ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भए पनि पैँचो मल दिने प्रक्रिया झन्झटिलो भएको बङ्गलादेशले जनाएपछि सरकार-सरकारबीच सम्झौता गरी खरिद गरेर नै मल ल्याइएको छ ।

भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच पैँचो युरिया मलबारे मौखिक सम्झौतापछि कृषि मन्त्रालयले बङ्गलादेशबाट पैँचो मल ल्याउने प्रक्रिया सुरु गरे पनि प्रक्रिया झन्झटिलो बनेकाले सस्तो र राम्रो खरिद गरेर नै ल्याउँदा सजिलो हुने भएपछि कृषि मन्त्रालयले कात्तिक २४ गते मन्त्रिपरिषद्बाट पुनः निर्णय गराएर जीटुजीमार्फत् मल खरिद गरेर ल्याउने प्रक्रिया सुरु गरेको थियो ।

सरकार-सरकारको बीचमा मलका लागि सम्झौता भएको दिनदेखि पाँच महिनापछि पहिलो चरणको मल आइपुगेको हो भने तीन चरणमा मल ल्याउने तयारी कृषि सामग्री केन्द्र लिमिटेडको रहेको छ । पहिलो चरणमा २ हजार पाँच सय मेट्रिक टन , दोस्रो चरणमा १० हजार मेट्रिक टन र तेस्रो चरणमा १७ हजार मेट्रिक टन मल ल्याउने तयारी कृषि सामग्री केन्द्र लिमिटेडले गरेको बताईन्छ । बङ्गलादेशबाट ढुवानीसहित प्रतिमेट्रिक टन ३ सय ४१ डलरको लागतमा कृषि सामग्री केन्द्र लिमिटेडले मल ल्याइरहेको बताईएको छ । गोरखापत्र

Facebook Comments