Sat. Sep 21st, 2024

हङ्‌कङ‌का ‘लोकतान्त्रिक संस्थामाथि आक्रमण’ भन्दै अमेरिकाद्वारा निन्दा

काठमाडौं, २०७७ फागुन २२ गते शनिबार

हङ्‌कङका “लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण जारी राखेको” भन्दै संयुक्त राज्य अमेरिकाले चीनको निन्दा गरेको छ। बेइजिङले हङ्‌कङमा निर्वाचन प्रणाली बदल्ने योजनाहरू घोषणा गरेपछि अमेरिकाले पछिल्लो आलोचना गरेको हो। चीनको न्याश्नल पिपुल्स कङ्ग्रेस एनपीसीले शुक्रवार त्यससम्बन्धी योजनाहरू सार्वजनिक गरेको थियो। एउटा प्रस्तावअनुसार हङ्‌कङको एसेम्ब्लीमा उठ्ने सबै उम्मेदवारलाई बेइजिङप्रति वफादार एउटा समितिका सदस्यहरूले अनुमोदन गर्नुपर्ने हुन्छ।

चीनले हङ्‌कङमा गत वर्ष कडा राष्ट्रिय सुरक्षा नीति ल्याएको पृष्ठभूमिमा निर्वाचन प्रणालीसम्बन्धी नयाँ योजना सार्वजनिक गरिएको छ। आलोचकहरूका अनुसार चीनले यूकेसँग गरेको “एक देश, दुई प्रणाली” सम्बन्धी सहमतिलाई उल्टाइरहेको र विपक्षीहरूलाई दबाउने काम गरिरहेको छ। पहिला उपनिवेश बनाएको यूकेसँग भएको सहमतिअनुसार हङ्‌कङले आफ्नै कानुनी व्यवस्था जारी राख्न पाउँछ र वाक्‌ तथा प्रेस स्वतन्त्रता सहितका अधिकारहरूको त्यहाँ उपभोग गर्न पाइन्छ।

त्यो व्यवस्थालाई क्रमिक रूपमा हटाउँदै लगिन्छ भन्ने हङ्‌कङका मानिसहरूमा रहेको डरले सन् २०१९ मा लोकतन्त्रको पक्षमा ठूल्ठूला प्रदर्शनहरू निम्त्यायो। कतिपय प्रदर्शनहरू हिंसात्मक बन्न पुगे र बेइजिङले अन्ततः नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गर्‍यो। नयाँ कानुनले “देशद्रोह”लाई लक्षित गर्ने र हङ्‌कङमा स्थायित्व ल्याउने बेइजिङको दाबी छ। एनपीसीको वार्षिक बैठकका लागि हजारौँ सांसदहरू भेला भएका छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बेइजिङको कदम “हङ्‌कङको स्वायत्तता, हङ्‌कङका स्वतन्त्रताहरू र लोकतान्त्रिक प्रक्रियाहरूमाथि एउटा प्रत्यक्ष आक्रमण” भएको बताउँनु भएको छ । प्राइसले भन्नुभयो-“यदि तिनलाई कार्यान्वयनमा ल्याइयो भने त्यसले हङ्‌कङका लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउनेछ,”। बिबिसी

Facebook Comments