२०८३ श्रावण ३०, शनिवार

ज्येष्ठ नागरिकलाई आजदेखि खोप, प्रधानमन्त्रीले पनि आज खोप लगाउनुहुँदै

       

काठमाडौं, २०७७ फागुन २३ गते आईतबार

आजदेखि नेपालमा दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईदैछ । सोही उमेर समूहमा पर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभएको छ । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउनु हुनेछ । यसैगरी सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।

यसैबीच नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आइतबार ल्याइँदै छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आइतबार नेपाल आइपुग्ने बताउनुभयो । उहाँले नेपालमा प्राथमिकताका आधारमा खोप लगाउने कार्य भइरहेको भन्दै फागुन २३ देखि ६५ वर्षभन्दा माथिका उमेर समूहका ज्येष्ठ नागरिकले खोप लगाउनसक्ने बताउनुभयो ।

सचिव अर्यालले नेपालमा कोरोना खोपको अभाव नहुने भन्दै सरकारले खरिद गर्ने खोप ल्याउने तयारी गरिरहेको बताउनुभयो । अर्यालले ५० लाख डोज खोप भारतसँग खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । कोभ्याक्सले कुल जनसङ्ख्याको २० प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने छ ।

Facebook Comments