Sun. May 19th, 2024

ज्येष्ठ नागरिकलाई आजदेखि खोप, प्रधानमन्त्रीले पनि आज खोप लगाउनुहुँदै

काठमाडौं, २०७७ फागुन २३ गते आईतबार

आजदेखि नेपालमा दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईदैछ । सोही उमेर समूहमा पर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभएको छ । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउनु हुनेछ । यसैगरी सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।

यसैबीच नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आइतबार ल्याइँदै छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आइतबार नेपाल आइपुग्ने बताउनुभयो । उहाँले नेपालमा प्राथमिकताका आधारमा खोप लगाउने कार्य भइरहेको भन्दै फागुन २३ देखि ६५ वर्षभन्दा माथिका उमेर समूहका ज्येष्ठ नागरिकले खोप लगाउनसक्ने बताउनुभयो ।

सचिव अर्यालले नेपालमा कोरोना खोपको अभाव नहुने भन्दै सरकारले खरिद गर्ने खोप ल्याउने तयारी गरिरहेको बताउनुभयो । अर्यालले ५० लाख डोज खोप भारतसँग खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । कोभ्याक्सले कुल जनसङ्ख्याको २० प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने छ ।

Facebook Comments