Thu. Nov 14th, 2024

विद्युतीय भुक्तानीमा रकमको सीमा दोब्बर पारियो

काठमाडौं, २०७७ फागुन २० गते बिहीबार 

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भुक्तानीमा रकमको सीमा दोब्बर बनाएको छ । विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नका लागि भुक्तानीको सीमा बढाइएको हो । राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै सर्वसाधारणले मोबाइल बैंकिङबाट दैनिक २ लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट बिल भुक्तानी वा एकाउन्ट ट्रान्सफरमा दैनिक २० लाखसम्म रुपैयाँ कारोबार गर्न सकिने व्यवस्था गरेको हो ।

यसअघि मोबाइल बैंकिङबाट प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँसम्म मात्र कारोबार गर्न सकिने व्यवस्था थियो । यसैगरी इन्टरनेट बैंकिङबाट प्रतिदिन १० लाखसम्म र बिल भुक्तानीका लागि मासिक ३० लाख तथा एकाउन्ट ट्रान्सफर गर्दा मासिक ५० लाखसम्म कारोबार गर्न सकिने गरी सीमा तोकिएको थियो ।

केन्द्रीय बैंकले मासिक कारोबार सीमा हटाएर दैनिक कारोबार सीमालाई भने दोब्बर बनाएको हो । कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा, सरकारी कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क इत्यादि शुल्क भुक्तानी गर्दा र विद्युत, दूरसञ्चार, खानेपानी, बिमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्दा तोकिएको सीमा लागू नहुने निर्देशनमा उल्लेख छ ।

यसैगरी शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात र होटल तथा रेष्टुरेन्ट कारोबारका साथै धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबारबापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्दा पनि सीमा लागू नहुने निर्देशनमा उल्लेख छ ।

कोभिड-१९ को महामारी सुरु भएसँगै राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै विद्युतीय माध्यमबाट हुने कारोबार सीमा वृद्धि गर्र्दै लगेको छ । केन्द्रीय बैंकले सीमा रकम वृद्धि गरे पनि अनुमति प्राप्त संस्थाले आफ्नो आन्तरिक जोखिमलाई मूल्यांकन गरी आन्तरिक सीमा तोक्न सक्ने व्यवस्था निर्देशनमा गरिएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्नका लागि भुक्तानीको सीमा वृद्धि गर्ने घोषणा गरेको थियो । राष्ट्र बैंकले मंगलबार मात्र ‘क्युआर कोड मापदण्ड-२०७७’ जारी गरेको थियो । यसैगरी बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५ प्रतिशत रकम विद्युतीय कारोबारको प्रवद्र्धनका लागि खर्च गर्न सक्ने व्यवस्था समेत गरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका साथै भुक्तानी सेवा प्रदायकबाट सेवा लिएर मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, कनेक्ट आइपिएस, वालेट, पिएसओ, एटिएम, आरटिजिएसजस्ता उपकरणमार्फत विद्युतीय कारोबार बढिरहेको छ । बैंकहरुले तरकारी बजार, यातायातका साधनदेखि मन्दिरमा भेटी चढाउन समेत विद्युतीय माध्यम प्रयोग गर्न सकिने गरी प्रवद्र्धन गरिरहेका छन् । कारोबार अनलाईन

Facebook Comments