Wed. Apr 24th, 2024

बङ्गलादेशबाट ल्याइने युरिया पानीजहाजमा लोड गरियो

काठमाडौं, २०७७ फागुन ७ गते शुक्रबार

नेपाल सरकारले बङ्गलादेशबाट जीटूजी (सरकार-सरकार) सम्झौताबाट खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल नेपाल ल्याउने काम सुरु भएको छ । त्यहाँको कारखानाबाट मल बुझेर पानीजहाजमा लोड गरिएको छ ।

कृषि मन्त्रालय अन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का लगाएको ढुवानीकर्ता संयुक्त अरब इमिरेट्स (यूएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले बङ्गलादेशबाट पहिलो लटमा २० हजार मेट्रिक टन मल बुझेर पानीजहाजमा लोड गरिसकेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले जानकारी दिनुभयो । सो पानीजहाज दुई दिनपछि कलकत्ता बन्दरगाह आइपुग्नेछ ।

त्यहाँ सो युरिया मलको ‘प्याकेजिङ’ हुनेछ अनि मात्र रेलमा हालेर नेपाल ल्याउने उहाँले बताउनु भयो । पहिलो लटमा २० हजार मेट्रिक टन युरिया मल बुझेको र अब विस्तारै बुझ्दै नेपाल ल्याउने काम हुने उहाँले बताउनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत असोज ३ गते ढुवानीकर्ताका लागि ग्लोबल टेन्डर आह्वानको गरेको थियो । पाँचवटा कम्पनीको टेन्डर आवेदन परेकोमा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो । कृषि र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र ल्याइसक्नुपर्ने उल्लेख छ ।

सम्झौता भएको दिनदेखि १८० दिन बितिसकेको छ । कृषि सामग्री कम्पनीका प्रमुख भण्डारी भन्नुहुन्छ, ‘ढुवानी कम्पनीसँग पैँचो मल ल्याउने बेलामा नै सम्झौता भएको थियो । तर बङ्गलादेशले पैँचो मल दिएन । अनि जीटूजी सम्झौतामार्फत मल ल्याउने सहमति हुनमा ढिलाइ भएका कारण मल ल्याउनमा ढिलाइ भएको हो । ’  उहाँले फागुनभित्र सबै मल ल्याईपुर्याउने लक्ष्य लिएको  बताउनुभयो । गोरखापत्र

Facebook Comments