Sun. Apr 28th, 2024

आज ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै

काठमाडौं, २०७७ फागुन ७ गते शुक्रबार

आज ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मनाइँदैछ । जहानिया राणा शासनको विरुद्ध विभिन्न समयमा गरिएका राजनीतिक आन्दोलनहरु पश्चात बि.सं.२००७ साल फागुन ७ गते उक्त शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

यस दिवसका अवसरमा सरकारले आज विशेष कार्यक्रम गर्दैछ । गएको माघ २० गते यस वर्ष प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । समितिको तीन दिन कार्यक्रम गर्ने निर्णयअनुसार हिजोदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन् । सरकारले अहिले बिहान ९:३० वजे बजे काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछ । सो कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीलगायत मन्त्री र उच्चपदस्थ अधिकारीहरुको सहभागीता रहनेछ ।

२०४६ सालको आन्दोलनपछिको उपलब्धि, २०६२/६३ को आन्दोलनपछि प्राप्त गणतन्त्र र २०७२ साल असोज ३ गते संविधान घोषणा लगायतका महत्वपूर्ण उपलब्धिहरुको आधार २००७ सालको प्रजातान्त्रिक आन्दोलन भएकोले यस दिनको ऐतिहासिक महत्व रहेको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर आजै नेपाल प्रज्ञा प्रतिष्ठानले दिउसो १ वजे प्रतिष्ठानमा ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ । उक्त कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

Facebook Comments