Tue. May 7th, 2024

फ्रान्समा १७,००० वर्ष पुरानो शङ्खबाट ध्वनी निकाल्न पुरातत्त्वविद्हरू सफल

काठमाडौं, २०७७ फागुन १ गते शनिबार

फ्रान्समा १७,००० वर्ष पुरानो शङ्खबाट ध्वनी निकाल्न पुरातत्त्वविद्हरू सफल भएका छन् । दक्षिण फ्रान्समा प्राचीन घुमन्ते सिकारीहरूले प्रयोग गरेको गुफामा उक्त शङ्ख सन् १९३१ मा भेटिएको थियो।

धेरै ठाउँमा हड्डीबाट बनेका प्राचीन वाद्ययन्त्र भेटिने गरेका भए पनि उक्त शङ्ख त्यस किसिमको सबैभन्दा पुरानो वस्तु हो। सो शङ्ख पुरानो एउटा वाद्ययन्त्रबाट ध्वनि निकाल्ने पुरातत्त्वविद्हरूको प्रयास  सफल भएको बिबिसीले जनाएको छ ।

उक्त शङ्खभित्र कुँदिएका बिन्दुजस्ता चिह्नलाई विशेष मानिएको छ। ती चिह्नहरू पिरनीज पर्वतीय क्षेत्रमा अवस्थित मार्सूला गुफाको भित्तामा भेटिएका कलाकृतिसँग मिल्दोजुल्दो देखिन्छन्।

“यसबाट यो शङ्खबाट निकालिने सङ्गीत र भित्तामा भएका चित्रहरू, आकृतिहरूबीच बलियो सम्बन्ध भएको देखिन्छ,” टूलूज विश्वविद्यालयका जील तोसेलोले भन्न् भयो।

“युरोपेली प्रागितिहासमा सङ्गीत र गुफाको कलाबीच सम्बन्ध भएको प्रमाण देखाउन सकिने यो नै हामीलाई थाहा भएसम्म पहिलो अवसर हो।”

यो शङ्ख ३१ सेन्टिमिटर लामो र १८ सेन्टिमिटर चौडा छ।

यो शङ्ख प्रशान्त महासागरमा पाइने एउटा ठूलो खाले शङ्खेकीराको खबटो भएको विश्वास गरिएको छ।

त्यतिबेला शङ्ख विशेष वस्तु भएको अनुमान गरिएको छ किनभने त्यो शङ्ख फेला परेको स्थान समुद्री किनाराबाट २०० किलोमिटर पर छ।

Facebook Comments