Sat. Apr 20th, 2024

चिनिया टिभी सिरियल “पश्चिमतिरको यात्रा”: तेश्रो धारावाहिक प्रसारणको सुभारम्भ

काठमाडौं, २०७६ मंसिर ११ गते बुधबार ।

नेपाली भाषामा स्वाराङ्कन गरिएको अति लोकप्रिय चिनिया टिभी सिरियल ‘पश्चिमतिरको यात्रा’ को तेश्रो धारावाहिक प्रसारणको बुधबार सुभारम्भ गरिएको छ ।अरनिको समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ संस्कृतिविद् तथा शताब्दि पुरुष सत्यमोहन जोशीले काठमाडौं अनामनगरस्थित तमु बौद्ध सेवा समितिमा  सो धारावाहिक प्रसारणको सुभारम्भ गर्नुभएको हो ।

सो समारोहलाई सम्बोधन गर्दै जोशीले “Journey to the west” अत्यन्त महत्वपूर्ण दर्शनले भरिएको उपन्यास भएको जानकारी दिनुभयो । यस उपन्यासलाई टिभी सिरियल बनाईनु र सो चिनिया भाषाको सिरियललाई नेपाली भाषामा स्वाराङ्कन गर्न अरनिको समाजले निर्वाह गरेको भूमिकाको उहाँले प्रसंशा गर्नुभयो । जोशीले यस टिभी सिरियलको माध्यमबाट नेपाली जनताले चीनको धर्म तथा संस्कृतिको बारेमा अझ धेरै जानकारी हासिल गर्ने र दुइ मुलुकबीचको सम्बन्ध अरु प्रगाढ हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले यही हप्ताबाट उक्त सिरियल इन्डिजिनियस टेलिभिजन र नेपाल मण्डल टेलिभिजनबाट प्रसारण गर्ने जानकारी दिनु भयो । चीनको केन्द्रीय टेलिभिजन (सिसिटिभी) ले सन् १९८६ मा निर्माण गरेको उक्त टिभी सिरियल नेपाली भाषामा स्वाराङ्कन गरी  तेस्रोपटक  नेपाली टेलिभिजनमा प्रसारण हुन लागेको हो। यसअघि नेपाल मण्डल टेलिभिजनबाट दुईपटक उक्त सिरियलको धारावाहिक प्रसारण गरिसकेको समाजले जनाएको छ। समाजले करिब चार वर्षअघि सिसिटिभीको अनुमति लिएर सिरियलको नेपाली अनुवाद र स्वाराङ्कन गरेको थियो।

समारोहमा नेपाल मण्डल टिभी च्यानलका प्रमुख कार्यकारी अधिकृत कुमार महर्जन, इन्डिजिनियस टिभी च्यानलका प्रबन्ध निर्देशक जगत दोङ, स्वाराङ्कन समूहका प्रतिनिधि विजय रत्न तुलाधरले “Journey to the west” को प्रसारणले नेपाल र चीनबीच ऐतिहासिक कालदेखि कायम रहँदै आएको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न तथा चीनको बारेमा धेरै जानकारी लिन नेपाली जनतालाई मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चिनिया प्रसिद्ध बौद्ध भिक्षु स्वान चाङ “हुएन साङ” चीनबाट भारतको नालन्दा विश्वविद्यालय तथा नेपालको कपिलबस्तु आई बौद्ध ग्रन्थ लिएर गएको घटनालाई मुख्य कथावस्तु बनाई करिब ५०० वर्ष अघि चिनियाँ उपन्यासकार ऊ छङ्एनले लेखेको शास्त्रीय उपन्यास ‘सि यउ चि’मा यो सिरियल आधारित छ र यसमा केही दन्त्यकथा र काल्पनिक घटना पनि जोडिएका छन् ।

यो टिभी सिरियल चीनमा मात्र विभिन्न टिभी स्टेसनबाट तीन हजार पटकभन्दा बढी प्रसारण भइसकेको बताइएको छ ।

 

Facebook Comments